नेकपा स्थायी कमिटी बैठक बस्दै, अध्यादेश फिर्ता लिन ओलीलाई निर्देशन दिने

by समतल अनलाइन

आजको वैठकमा सहभागी होलान् ओली ?
काठमाडौं । एकपछि अर्को समस्या थपिइरहेका बेला आज (बुधबार) सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बस्दैछ ।

आइतबार बसेको बैठकले शोक प्रस्ताव पारित गर्दै आजसम्मका लागि स्थगित गरेको थियो । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा कुनै परामर्श नगरी संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि नेकपाभित्र नै थप तरङ्ग र असन्तोष पैदा भएको छ ।

प्रधानमन्त्री ओलीले हिजो पार्टी र आफन्ै सरकारका मन्त्रीहरुलाई समेत कुनै जानकारी नदिई संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सचिवालयका बहुमत सदस्यहरु असन्तुष्ट बनेका छन् ।

ओलीले पार्टीमा परामर्श नै नगरी ल्याइएको अध्यादेश असंवैधानि भएको, प्रधानमन्त्रीको कदम गलत भएको भन्दै तत्काल फिर्ता गर्नुपर्ने उनीहरुले माग गरेका छन् । अध्यादेश जारी भए लगत्तै असन्तुष्ट स्थायी कमिटीका बहुमत सदस्य हिजो प्रचण्ड निवास खुमलटारमा भेला भएका थिए । उनीहरुले आज (बुधबार) बस्ने बैठकमा प्रधानमन्त्री ओलीलाई अध्यादेश फिर्ता लिन निर्देशन दिने निष्कर्ष निकालेका छन् ।

पार्टीभित्र देखिएको अन्तरविरोध र यसले निम्त्याएको समस्या समाधानमा केन्द्रित हुने बेला प्रधानमन्त्रीले अध्यादेश ल्याएपछि नेकपाभित्रको विवाद झन चर्किएको छ । सत्तारुढसँगै विपक्षी दल र अरु क्षेत्रबाट पनि अध्यादेशको चौतर्फी विरोध भएको छ ।

नयाँ अध्यादेश अनुसार संवैधानिक परिषदको बैठक हिजो बेलुकी बसेको थियो । बैठकले कुनै निर्णय भने गरेन । नयाँ अध्यादेश अनुसार अब अध्यक्षसहित परिषदका बहुमत सदस्यको उपस्थितिमै बैठक बस्न सक्नेछ भने निर्णय गर्न पनि सक्नेछ । यसअघि पाँच जना सदस्य उपस्थित भएमा मात्रै बैठक शुरु गर्न सकिने व्यवस्था थियो ।

यसअघि पनि प्रधानमन्त्रीले पार्टीमा पराशर्म नै नगरी राजनीतिक दल विभाजनसम्बन्धी र संवैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएका थिए । तर, पार्टीभित्रै त्यसको चर्को विरोध भएपछि दुवै अध्यादेश फिर्ता भएको थियो ।

सत्तारुढ दल मात्र होइन प्रतिपक्षमा रहेका दलहरुले समेत प्रधानमन्त्रीले ‘सुटुक्क’ ल्याएको अध्यादेशको चर्को रुपमा आलोचना गर्दै अध्यादेश तत्काल फिर्ता लिनुपर्ने माग राखेका छन् । हिजो विहान संवैधानिक परिषदको वैठकमा उपस्थित भएका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिजै दिउँसो ओलीले अध्यादेश ल्याएपछि साँझको परिषद वैठकमा सहभागी भएनन् ।

उनले प्रधानमन्त्रीको कदम गलत भएको भन्दै अध्यादेशप्रति कांग्रेसको प्रष्ट विमति रहेको बताइसकेका छन् । दलका नेताहरुले मात्र होइन संविधानविदहरुले समेत सरकारले ल्याएको अध्यादेशको आलोचना गरेका छन् । सरकारका मन्त्रीहरुलाई समेत जानकारी नदिई प्रधानमन्त्री ओलीले एकल रुपमा अघि बढाएको अध्यादेशलाई जारी गरेपछि राष्ट्रपति विद्यादेवी भण्डारी समेत विवादमा तानिएको कानूनविदहरुको भनाइ छ ।

एकलौटी रुपमा अध्यादेश ल्याएर थप विवाद र आलोचनामा परेका प्रधानमन्त्री ओली आजको स्थायी कमिटी वैठकमा सहभागी हुन्छन् वा हुँदैनन् भन्ने चासोको विषय बनेको छ । विगतमा पटक–पटक वैठकमा अनुपस्थित हुँदै आएका ओली आजको स्थायी कमिटी वैठकमा सहभागी हुनेबारे शंका गरिएको छ ।

 
 
  
 

You may also like