बुटवल । रुपन्देहीमा जारी लकडाउनको स्वरुप परिर्वन गरीने भएकोे छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न गठित जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) रुपन्देहीको बैठकले लकडाउनको स्वरुप परिवर्तन गरेर केही खुकुलो बनाउने निर्णय गरेको हो ।
यसअघि रुपन्देहीका विभिन्न उद्योगि व्यवसायीहरुले लकडाउनको विकल्प खोज्न प्रशासनलाई अनुरोध गरेका थिए । उद्योगी व्यवसायीले माग गरेअनुसार निषेधाज्ञाको निर्णय पुनरावलोकन गर्ने निर्णय बैठकले भएको प्रमुख जिल्ला अधिकारी माहादेव पन्थले जानकारी दिए । भोलि शनिबार रातीसम्म निषेधाज्ञाकै अवधि कायम रहने भएकाले भोलि शनिबार मात्रै कुन मोडालिटीमा खुला गर्ने भन्ने निर्णय हुने उनले बताए ।
यसका लागि शनिबार जिल्ला सुरक्षा समितिको बैठक बसेर टुंगो लगाउने निर्णय भएको हो । बैठकमा उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तिय संस्था खुला गर्न, व्यापार व्यवसायका लागि समय निर्धारण गरेर खुला गर्नका लागि सुझाव दिएको बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले जानकारी दिए।
भदौ १४ गते जिल्ला प्रशासन कार्यालयले अन्तिमपटक भन्दै निषेधाज्ञा जारी गर्न सहमति जनाएकोले संगठनले अबदेखि निषेधाज्ञा भए उल्लंघन गर्ने समेत चेतावनी दिएको थियो ।
यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार कोभिड–१९ को सङ्क्रमणलाई रोक्नका लागि ५०० भन्दा बढी सङ्क्रमित भएका जिल्लामा निषेधाज्ञा र २०० भन्दा बढी सङ्क्रमण भएका जिल्लामा बन्दाबन्दी गर्न सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ ।