नवलपुर ।नेपाली कांग्रेस पश्चिम नवलपरासीका उपसभापति सुवाशचन्द्र गिरीको मंगलबार बिहान निधन भएको छ ।उपचारको क्रममा ३८ वर्षीय गिरीको ललितपुरको पाटन अस्पतालमा मृत्यु भएको कांग्रेस जिल्ला सभापति विष्णु प्रसाद पौडेलले जानकारी दिए ।निमोनियासमेत देखिएका उनको कोरोना संक्रमण भएपछि बुटवलस्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० गते पाटन अस्पताल पुर्याइएका उनको अवस्था गम्भीर भएपछि सोमबार साँझ भेन्टिलेटरमा राखेर उपचार सुरु गरिएको थियो ।
मेडिकल कलेज भैरहवामा पित्त थैलीको अपरेशन गराएर अस्पतालमै बसेका उनको परीक्षणका क्रममा कोरोना पोजेटिभ देखिएको थियो । आफूलाई कोरोना पोजेटिभ देखिएकाले सम्पर्कमा आएका सबैजना होम क्वारेण्टाइनमा बस्न आग्रहगर्दै अस्पताल शैयाबाट गिरीले फेसबुकमा स्ट्याटस लेखेर सबैलाई सजग गराएका थिए ।
बुटवलबाट पाटन अस्पतालमा लैजानका लागि परिवारजनले २ दिनसम्म हेलिकप्टर र एम्बुलेन्स खोजेपनि नपाएपछि गिरी परिवारले आफ्नै जिल्ला पश्चिम नवलपरासीमा सञ्चालन हुने एम्बुलेन्स बोलाएर पाटन अस्पताल पुर्याएका थिए ।
तत्कालीन फोरम लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसमा समाहित भएपछि गिरी कांग्रेसको जिल्ला उपसभापति बनेका थिए ।
यसैबीच परासीकै अन्य पार्टीका दुई जना नेताहरुमा कोरोनाको लक्षण देखिएपछि उनीहरुको बुटवल र काठमाण्डौंमा उपचार भइरहेको छ । पश्चिम नवलपरासीमा समुदाय स्तरमा गरिएको परीक्षणमा १६ जनामा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य कार्यालयका प्रमुख गौरव ढकालले जानकारी दिए । हालसम्म जिल्लामा १ सय ४० जनामा कोरोना पोजेटिभ देखिएको छ ।