गुल्मी । पहिरोले पुरिएको घरमा सरसामान खोज्दै गरेकी गुल्मीको इस्मा गाउँपालिका– १ हस्तिचौरकी कमला सारू एकाएक रुन थालिन् । उनकै वरिपरी सरसामान निकाल्दै गरेका स्थानीय बासिन्दा र सुरक्षाकर्मी चकित परे ।
केही स्थानीय बासिन्दाले सम्झाउन खोजे, तर उनी झन हिकहिकाइन् । उनले एक जोर लुगा सुमसुम्याउँदै भनिन्, ‘भर्खरै मैले नै नयाँ लुगा किनेकी थिएँ । कसरी मन थाम्नु ।’
बिहीबार राति आएको पहिरोले घर पुरिँदा उनका १८ महिने नातिको ज्यान गएको थियो ।
त्यसयता सम्हालिने कोशिस गर्दै आएकी उनी एकाएक नातिका लुगा भेटेपछि भक्कानिएकी थिइन् । उनले नै नातिका लागि केही दिनअघि नयाँ लुगा किनेकी थिइन् । जुन लुगा राम्ररी लगाएका पनि थिएनन् । कमलाले भनिन्, ‘जति गर्दा पनि भुल्न उपाय छैन । झलझल्ती आँखामा आइहाल्छ ।’
बिहीबार राति १० बजेतिर चट्याङसहित ठूलो पानी पर्यो । मध्यरातमा झन् पानी दर्कियो । कमला निदाएकी थिइनन् । घरसँगैको गोठमा सुतेका छोरा–बुहारीलाई पटक पटक बोलाएकी थिइन्न्। ‘टिनको छानो भएकाले ठूलो पानी परेकाले मैले बोलाएको सुनेनन् । बोलाउँदाबोलाउँदै पहिरो खस्यो,’ कमलाले भनिन्, ‘आँखै अगाडि गोठसँगै छोरा, बुहारी र नाति बगे ।’
करिब एक सय मिटर तल पुगेकी बुहारी सिर्जना आमा भन्दै कराएको सुनिन् । उनका छोरा वसन्त बोल्न सकिराखेका थिएनन् । कमलाका हात खुट्टा लुला भए । लाइट लगाउँदा छोराबुहारी जीवित देखिन् । तर, नाति देखिएनन् ।
आफै उद्धार गर्न जान सकिनन् । छिमेकी बोलाउन गइन् । छिमेकीले पनि पहिरोमा पस्ने आँट गरेनन् । ‘छोराले नै बुहारीलाई तानेर ल्यायो । नाति छुटे छ,’ कमल बोल्दाबोल्दै रुन थालिन् । वसन्त र सिर्जना घाइते भएका छन् भने १८ महिने सुरजको शव भेटिएको थियो ।
त्यसयता कमलाका आँखा ओभाउन सकेका छैनन् । झन् पुरिएको घरमा नातिका नयाँ लुगा भेटेपछि त उनी घरीघरी डाको छोडेर रुने गरेकी छिन् । ‘अझै आँखावरिपरी देख्छु, मेरो मुटुको टुक्रालाई दैवले खोस्यो,’ उनी बोलिन् ।
उनकी छिमेकी ईश्वरा खत्रीको अवस्था पनि उस्तै छ । पहिरोले घर बगाउँदा उनी र उनकी सात वर्षीया छोरी अपेक्षा पनि बगेका थिए । उनले छोरीलाई अंगालोमा बेरेर राखेकी थिइन् । निकै तल पुगेपछि ईश्वरा त बाँसको गाँजमा अड्किन्, तर उनकी छोरी अपेक्षालाई भने पहिरोले बगायो ।
ईश्वरलाई स्थानीय बासिन्दाले तानेर निकाले भने अपेक्षाको भने बगरमा शव भेटियो । पहिरोले बाटो अवरुद्ध भएकाले उद्धारका लागि तत्काल आउन नसकेको वडा सदस्य जंगबहादुर खत्रीले बताए । ‘राति नै खबर त पाएका थियौँ, तर बाटो नभएकाले उद्धार गर्न राति नै आउन सकिएन । उज्यालो भएपछि मात्रै उद्धार गर्न सक्यौं,’ उनले भने ।
पहिरोमा परेर दुई बालबालिकाको ज्यान गएको थियो भने पाँचजना घाइते भएका थिए । पहिरोबाट एक दर्जनभन्दा बढी परिवार विस्थापित भएका छन् । उनीहरू स्थानीय हिमालय माविमा बस्दै आएका छन् ।
विस्थापित परिवारको बिचल्ली भएको छ । उनीहरूले खानपिन गर्न पनि समस्या भएको बताएका छन् । गाईभँंसीलाई खुवाउने पानी नै पिइरहेको पहिरो विस्थापित रामकुमारी सारूले बताइन् । ‘अब उपाय केही नभएपछि यही पानी खाने हो,’ उनले भनिन् ।
पहिरोले सडक अवरुद्ध भएको छ । गाउँनजिक थुप्रै ठाउँमा जमिन चर्किएको छ । जमिन चर्किएकाले अझै पहिरो खस्ने उच्च जोखिम रहेको वडा सदस्य खत्रीले बताए ।
यस वर्ष प्राकृतिक विपतबाट हुने क्षति बढ्ने अनुमान
प्रत्येक वर्ष बाढीपहिरोबाट औसत १७८ को मृत्यु
यस वर्ष प्राकृतिक विपतबाट हुने मानवीय क्षति बढ्ने अनुमान गरिएको छ । मनसुन सुरु भएपछिका १५ दिनको विश्लेषणमा त्यस्तो संकेत देखिएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
यस वर्ष ३० जेठबाट मनसुन सुरु भएको हो । त्यसयताका १५ दिनमा प्राकृतिक विपत्बाट देशभर ३१ को ज्यान गइसकेको छ । यो संख्या गत वर्ष यही अवधिको तुलनामा झन्डै ५५ प्रतिशतले धेरै हो । गत वर्ष ५ असारदेखि भित्रिएको मनसुनको सुरुका १५ दिनमा १४ जनाको मात्रै मृत्यु भएको प्राधिकरणले जनाएको छ । प्राकृतिक विपत्बाट भएको क्षतिको प्राधिकरणले १५–१५ दिनमा विश्लेषण गर्ने गर्छ ।
विपत्का घटनामा परी घाइते हुनेको संख्या पनि यस वर्ष बढ्ने अनुमान गरिएको छ । गत वर्ष मनसुनका सुरुका १५ दिनमा ३८ जना घाइते भएका थिए । तर, यस वर्ष १५ दिनमा ४८ जना घाइते भएका छन् ।
प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले प्राकृतिक विपत्का घटना गत वर्षको तुलनामा कम भए पनि मानवीय क्षति भने धेरै हुने अनुमान गरिएको बताए । ‘गत वर्ष मनसुन सुरु भएको १५ दिनमा मुलुकभर एक सय ५९ घटना भएका थिए ।
यस वर्ष सुरुका १५ दिनमा एक सय ४३ मात्रै घटना भएका छन्, तर मानवीय क्षति भने बढेको छ । घाइते हुनेको संख्या पनि गत वर्षको भन्दा धेरै छ । यसपटक संकेत सुखद देखिएको छैन,’ उनले भने ।
प्राधिकरणका अनुसार चुरे क्षेत्रमा भएको वन फँडानी र विनायोजना स्थानीय तहमा चलेका डोजर बाढी र पहिरोको प्रमुख कारण हुन् । त्यसबाहेक सीमा क्षेत्रमा भारतद्वारा बनाइएका तटबन्धका कारण पनि बाढी र डुबानका घटना हुने गरेका छन् ।
‘पहाड जताततै खनिएका छन् । माटो गलेको छ । यस्तोमा पहिरोको जाने खतरा सबैभन्दा धेरै हुन्छ । तराईका नदी क्षेत्रमा व्यवस्थित तवरले बाँध बनाउन सकिएको छैन । अर्कोतर्फ भारतीय तटबन्ध छ । यसले बाढी र डुबानलाई निम्त्याउँछ,’ पोखरेलले भने ।
राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्यांकअनुसार नेपालमा मनसुन ९० दिनसम्म रहन्छ । यस अवधिमा हुने बाढी र पहिरोका घटनाले मानवीय र धनमालमा ठूलो क्षति पुर्याउँछ ।
प्रत्येक वर्ष देशभर बाढीपहिरोबाट मात्रै सरदर एक सय ७८ ले ज्यान गुमाउने गरेको प्राधिकरणको तथ्यांक छ । त्यस्तै, ३३ बेपत्ता हुन्छन् भने ६ हजार चार सय ९० घरपरिवार बाढीपहिरोबाट प्रत्यक्ष प्रभावित हुन्छन् । प्रत्येक वर्ष ५१ करोडभन्दा धेरैको धनमाल क्षति हुने गर्छ ।
पछिल्लो पाँच वर्षमा बाढीपहिरोबाट मात्रै आठ सय ९० को मृत्यु भएको छ भने एक सय ६१ जना बेपत्ता भएका छन् । घटनाबाट ३२ हजार चार सय ४० घरपरिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । देशभर यस अवधिमा दुई अर्ब ५७ करोड ९६ लाख रुपैयाँबराबरको धनमाल क्षति भएको प्राधिकरणको तथ्यांक छ ।
सरकारले विपत् न्यूनीकरण, उद्धार र पुनर्निर्माणका लागि राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गठन गरेको हो । गत २९ मंसिरमा गठन गरिएको प्राधिकरणमा अनिल पोखरेल कार्यकारी अधिकृत नियुक्त गरिए पनि अरू कर्मचारीको दरबन्दी सिर्जना गरिएको छैन, जसले गर्दा प्राधिकरणले प्रभावकारी रूपमा काम गर्न सकेको छैन । प्राधिकरणले सरकारसँग ३८ कर्मचारीको दरबन्दी माग गरेको छ, तर अहिलेसम्म स्वीकृत हुन सकेको छैन । नयाँ पत्रिका दैनिकबाट