विश्वभर कोरोना संक्रमितको संख्या ४० लाख नाघ्यो, दुई लाख ७५ हजार बढीको मृत्यु

  • अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक कोरोना परीक्षण
    काठमाडौं । विश्वभर कोरोना (कोभिड–१९) भाइरस संक्रमितको संख्या ४० लाख नाघेको छ । हालसम्म २१२ देश र दुईटा पानीजहाजका यात्रु गरी विश्वभर ४० लाख १० हजारभन्दा बढीमा कोरोना संक्रमण देखिएको वर्ल्डओमिटरले जनाएको छ ।

संक्रमितमध्ये १३ लाख ८२ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् । उपचार गराइरहेका २३ लाख ५२ हजारमध्ये दुई प्रतिशतको अवस्था जटिल र बाँकीको अवस्था सामान्य रहेको पनि वर्ल्डओमिटरले जनाएको छ ।

कोरोना महामारीका कारण हालसम्म विश्वभरका दुई लाख ७५ हजार मानिसको ज्यान गइसकेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट विश्वका पाँच हजार ५३४ मानिसको ज्यान गएको छ । कोरोना संक्रमित हुने र ज्यान गुमाउने सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा छन् ।

अमेरिकामा अहिलेसम्म १३ लाख २० हजारभन्दा धेरैमा कोरोना पुष्टि भएकोमा ७८ हजारभन्दा धेरैको ज्यान गएको छ । यस्तै बेलायतमा ३१ हजारभन्दा धेरै, इटालीमा ३० हजारभन्दा धेरै, स्पेन र फ्रान्समा २६ हजार भन्दा धेरैको ज्यान गइसकेको छ ।

छिमेकी देश भारतमा कोरोना संक्रमितको संख्या साढे ५९ हजार नाघेको छ । हिजो (शुक्रबार) ३३ सय भन्दा धेरै नयाँ बिरामी थपिएपछि भारतमा ५९ हजार ६९३ जनामा कोरोना पुष्टि भएको छ । भारतमा अहिलेसम्म एक हजार ९८५ जनाको कोरोनाले ज्यान लिइसकेको । १७ हजार ८८७ जना संक्रमित उपचारपछि निको भएका छन् ।

अमेरिकी राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको दैनिक कोरोना परीक्षण
यता अमेरिकी उपराष्ट्रपति माइक पेन्सका प्रेस सेक्रेटरी कैटी मिलरलाई पनि कोरोनाको संक्रमण देखिएको छ ।

यसअघि शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पका एक जना सहयोगीलाई पनि कोरोना भएको पाइएको थियो । ह्वाइट हाउसले अहिले दैनिक राष्ट्रपति ट्रम्प र उपराष्ट्रपति पेन्सको कोरोना परीक्षण गरिरहेको तथा ट्रम्पलाई सुरक्षित राख्न आवश्यक सावधानी अपनाइरहेको जनाएको छ ।

 

 
 
  
 

You may also like