‘परदेशी २’को शुभमुहूर्त, प्रकाश सपूतले भने –अधुरो एउटा सपना पनि पुरा भयो

by समतल अनलाइन

काठमाडौं। नारायण रायमाझीको निर्देशनमा बन्ने चलचित्र ‘परदेशी २’को शुभसाइत गरिएको छ। शिवरात्रीको अवसर पारि शुक्रबार विहान पूजा गर्दै चलचित्रको शुभसाइत गरिएको हो। चलचित्रको छायांकन पनि शुक्रबारबाटै शुरु गरिएको छ।

‘बोल माया’ र ‘गलबन्दी’ बोलको गीतबाट चर्चामा आएका गायक प्रकाश सपूतले यस चलचित्रबाट हिरोको रुपमा डेब्यू गर्दैछन्। चलचित्रमा प्रकाशसंग अभिनेत्री वर्षा शिवाकोटीको जोडी बाँधिएको छ।

गायक प्रकाशले योसंगै आफ्नो अधुरो एउटा सपना पनि पुरा भएको बताएका छन्। ‘अब मसंग नयाँ सपना छैन। किनकी अधुरो एउटा सपना पनि पुरा भएको छ, चलचित्रमा अभिनय गर्ने। हिरो बन्ने’ प्रकाश भन्छन्। चलचित्रको छायाँकन शुरु भएसंगै आफूमा डर पनि लागिरहेको उनी बताउँछन्। उनी भन्छन् –‘सपना पुरा भएकोमा जति खुःसी र उत्साहित छु त्यतिनै डर पनि लागिरहेको छ की मेरो करियरको आगामी यात्रा कता र कस्तो हुन्छ भनेर।’ प्रकाशले आफू ईमान्दार, गम्भिर र मेहनतका साथ काम गर्ने समेत बताएका छन्।

उनका अनुसार, आउँदो वर्षको दशैंलाई यो चलचित्रको प्रदर्शन मिति तोकिएको छ। चलचित्रले रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथालाई उठान गर्नेछ।

२०७२ सालमा प्रदर्शनमा आएको ‘परदेशी’ सुपरहिट भएको थियो। फिल्मको कथावस्तुलाई दर्शकले अत्याधिक रुचाएका थिए। त्यसको चार वर्षपछि ‘परदेशी २’ निर्माण हुन लागेको हो।

गायक प्रकाशमा बाल्यकालदेखि नै हिरो बन्ने सपना थियो। त्यही सपना बोकेर उनी काठमाडौं आएका थिए।

 
 
  
 

You may also like