चिसोबाट बच्न र यात्रामा सतर्कता अपनाउन आग्रह
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणाली सशक्त बनेका कारण आज (बुधबार) र भोलि (बिहीबार) देशैभरका अधिकांश स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको मौसमविदहरुले बताएका छन् ।
आज पूर्वदेखि पश्चिमसम्मै वर्षाको सम्भावना छ भने उच्च पहाडी र हिमाली भेगमा हिमपातको सम्भावना रहेको छ । ‘विशेष गरी देशको पश्चिमी क्षेत्रमा वर्षा र हिमपात बढी हुने देखिन्छ,’
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीले भनिन्, ‘मध्य र पूर्वका पनि केही स्थानमा वर्षा र हिमपातको सम्भावना छ ।’
आज पश्चिमी भेगका अधिकांश स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने पश्चिमी क्षेत्रकै उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि भारीसम्म हिमपात हुने सम्भावना छ ।
यस्तै मध्य क्षेत्रका धेरै स्थान र पूर्वका केही स्थानमा हल्कादेखि मध्यमसम्म तथा यिनै क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यसम्म हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले बुधबार बिहान ६ बजे आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ, ‘सर्वसाधारणमा चिसोबाट बच्ने उपाय अपनाउन हुन र यात्रा गर्दा सामान्य सतर्कता अपनाउन हुन अनुरोध छ ।’
कस्तो रहला काठमाडौंको मौसम ?
अहिले (बुधबार बिहान) मध्य क्षेत्रअन्तर्गत काठमाडौं उपत्यकामा पनि मौसम आंशिक बदली भएको छ । आज दिउँसो पानी नपरे पनि काठमाडौंमा घाम लाग्ने सम्भावना कम रहेको मञ्जु बासी बताउँछिन् ।
पश्चिमी न्यून चापीय प्रणाली प्रवेश गरेपछि तराईमा हुस्सु कुहिरो लाग्न छाडेको छ । यो प्रणालीको प्रभावले मौसम बदली भएर आकाशमा बादल देखिन थालेपछि मंगलबारबाछ तराईमा हुस्सु रकुहिरो देखिन छाडेको हो ।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार आज (बुधबार) बिहान पनि तराईमा कुहिरो देखिएको छैन ।
यस्तो रहने छ आगामी तीन दिन
माघ १५ गते (बुधबार)
दिउँसो – देशको पश्चिम तथा मध्य भू–भागलगायत पूर्वी भेगका पहाडी क्षेत्रमा सामान्य बदली रही पूर्वी तराई भेगमा आंशिक बदली रहने छ । पश्चिमी र मध्य भू–भागका धेरै स्थानमा र पूर्वी भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । साथै पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
देशभर सामान्य बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
राति – देशभर सामान्यदेखि पूर्णसम्म बदली रहनेछ । पश्चिमी र मध्य भू–भागका अधिकांश स्थान र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू(भागमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ । पश्चिमी उच्च पहाडी तथा हिमाली भू–भागका एक वा दुई स्थानमा भारी हिमपातको सम्भावना छ ।
माघ १६ गते (बिहीबार)
दिउँसो – देशको उच्च पहाडी र हिमाली भेगमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू(भागका थोरै स्थान र पश्चिमी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भू–भागमा हल्का हिमपातको सम्भावना छ ।
राति – देशको पूर्वी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
माघ १७ गते (शुक्रबार)
दिउँसो – देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
राति – देशको पहाडी भेगमा आंशिक बदली रही मध्य र पूर्वी पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ भने बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ ।
स्रोत : जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखा