कृषि मन्त्री भुसाल भन्छन : विश्वविद्यालय र कलेजलाई कृषिसँग जोड्नुपर्छ

by समतल अनलाइन

काठमाडौं । विश्वविद्यालय र कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता कृषि तथा पशुपंक्षी विकासमन्त्री घनश्याम भुसालले औंल्याएका छन् ।

शुक्रबार संसदको दिगो विकास समिति बैठकमा सांसदहरुसँगको छलफलका क्रममा मन्त्री भुसालले विश्वविद्यालय तथा कलेजहरुलाई कृषिसँग जोड्नुपर्ने आवश्यकता औंल्याएका हुन् । नेपालमा कृषिसम्बन्धी अध्ययन र अध्यापन गराउने कलेज नै नभएको भन्ने भनाई गलत भएको भन्दै मन्त्री भुसालले त्रिभुवन विश्वविद्यालयलगायतका विश्वविद्यालय र अन्य कलेजहरुलाई कृषिकर्मसँग जोड्नुपर्नेमा जोड दिए ।

सांसद प्रमिला कुमारीले बैठकमा नेपालमा कृषिसम्बन्धी अध्ययन गराउने कलेजहरु पर्याप्त नभएको भन्दै जिज्ञासा राखेकी थिइन् । जवाफमा मन्त्री भुसालले विश्वविद्यालय नै नभएको भन्ने कुरा सही नभएको तर विश्वविद्यालय र कलेजहरुको शिक्षालाई कृषिकर्मसँग कसरी जोड्न सकिन्छ भन्नेमा समस्या रहेको प्रष्टीकरण दिए । बजारमा कृषिको ठूलो जनशक्ति भए पनि त्यसलाई प्रयोग गर्न नसकिएको मन्त्री भुसालको भनाइ छ ।

मन्त्री भुसालले धानको उत्पादन बढाउन मन्त्रालय हरदम तयार रहेको बताए । प्रोजेक्ट बनाउने भन्दा उत्पादन बढाउने कुरामा मन्त्रालय तयार रहेको उनले प्रतिवद्धता व्यक्त गरे ।

 
 
  
 

You may also like