लुम्बिनी । लुम्बिनी विकास कोषले गुरुयोजना क्षेत्रभित्रका निषेधित स्थानमा सञ्चालन तथा राखिएका पसलहरू २४ घण्टाभित्र हटाउन निर्देशन दिएको छ।
कोषले सार्वजनिक सूचना जारी गर्दै गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीस्थित पवित्र उद्यान क्षेत्र, शान्ति द्वीप तथा अन्तर्राष्ट्रिय विहार क्षेत्रलगायत निषेधित स्थानमा स्वीकृतिबिना पसल सञ्चालन तथा राखिएकोप्रति ध्यानाकर्षण गराएको हो।
कोषले १९ भदौ २०८३ देखि लागू हुने गरी सूचना जारी भएको २४ घण्टाभित्र त्यस्ता पसल हटाई लैजान सम्बन्धित सबैलाई अनुरोध गरेको छ।
तोकिएको समयभित्र पसल नहटाए प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत कोषले दिएको छ।

लुम्बिनीको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्त्व र गुरुयोजनाको मर्मअनुसार निषेधित क्षेत्रलाई व्यवस्थित र अतिक्रमणमुक्त बनाउने उद्देश्यले यस्तो निर्देशन दिइएको कोषले जनाएको छ।

