काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी नाबालिका तथा महिलाको चरित्र हत्या, दुर्व्यवहार र ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्युरो तथा विभिन्न जिल्ला प्रहरी कार्यालयको सहकार्यमा सञ्चालन गरिएको ‘अप्रेसन डिजिटल स्वाभिमान’ अन्तर्गत उनीहरूलाई पछिल्लो २४ घण्टामा विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–१ का २६ वर्षीय आशिष तामाङ, ललितपुर महानगरपालिका–१४ का ३७ वर्षीय रोहित विक्रम राणा, काठमाडौं नागार्जुन नगरपालिका–१ बस्ने भारतको बिहार घर भएका ३२ वर्षीय महमद फेसल एजाज, इलाम देउमाई नगरपालिका–९ का ३७ वर्षीय विमल दर्जी खत्री, म्याग्दी मंगला गाउँपालिका–५ अर्मनका ५६ वर्षीय दिलबहादुर मगर र उदयपुर चौदण्डीगढी नगरपालिका–९ का २५ वर्षीय सुवास कार्की रहेका छन् ।

त्यस्तै, काठमाडौं महानगरपालिका–१० बस्ने सुर्खेत वीरेन्द्रनगर नगरपालिका–११ का ३२ वर्षीय चिरञ्जीवी सापकोटा तथा १५ र १६ वर्षका दुई बालक पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार आशिषले नक्कली फेसबुक खाता बनाएर नाबालिकाका अश्लील तस्बिर तथा भिडियो आफन्त र साथीहरूलाई पठाएको, रोहितले इमोमार्फत अश्लील तथा अपमानजनक सन्देश पठाएको र महमद फेसलले प्रेम सम्बन्ध टुटेपछि पीडितका तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
त्यस्तै, विमलले नक्कली टिकटक खाताबाट गोप्य तस्बिर तथा भिडियो प्रसारण गरेको, दिलबहादुरले फेसबुकमा अश्लील गालीगलौज गरेको, सुवासले नक्कली फेसबुक खाताबाट अश्लील सामग्री पठाएर ब्ल्याकमेलिङ गरेको र चिरञ्जीवीले ह्वाट्सएपमार्फत महिलालाई अश्लील गालीगलौज गरेको आरोप छ ।
पक्राउ परेका दुई बालकले पीडितको सामाजिक सञ्जाल खाता ह्याक गरी अश्लील तस्बिर तथा भिडियो बनाएर सार्वजनिक गर्ने धम्की दिँदै रकम मागेको प्रहरीले जनाएको छ ।
उनीहरूमाथि विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

