बुटवलमा शुक्रबारदेखि खाना महोत्सव, ६० स्टलमा पाइनेछन् विभिन्न परिकार

by समतल अनलाइन
61Shares

बुटवल । स्थानीय खानाका परिकार, नेपाली स्वाद र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले शुक्रबारदेखि बुटवलमा ‘बुटवल खाना महोत्सव’ आयोजना हुने भएको छ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको आयोजनामा मंसिर ११ गतेदेखि १५ गतेसम्म बुटवलको देवीनगरस्थित रंगशालामा महोत्सव सञ्चालन हुन लागेको हो ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै संघले स्टल निर्माणलगायत आवश्यक व्यवस्थापकीय काम सम्पन्न भएको जानकारी दिएको हो ।

महोत्सवमा करिब ६० वटा खानाका स्टल रहनेछन् । जहाँ स्थानीय तथा परम्परागत नेपाली खानाका विभिन्न परिकारको स्वाद लिन पाइनेछ । खानाका परिकारसँगै स्थानीय तथा राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिनेछ ।

होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष माधवकुमार खनालले स्थानीय उत्पादनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपाली खानाको मौलिक स्वाद र पहिचानलाई संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताउनुभयो ।

उहाँका अनुसार महोत्सवले स्थानीय उत्पादनको बजार विस्तार, कला संस्कृतिको संरक्षण र बुटवलको आन्तरिक पर्यटन प्रवद्र्धनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

आयोजकले महोत्सवमा सहभागी भई नेपाली खानाका मौलिक परिकारको स्वाद लिन तथा स्थानीय उत्पादनको प्रवद्र्धनमा साथ दिन उद्योगी, व्यवसायी, संघसंस्था, सञ्चारकर्मी र सर्वसाधारणलाई आग्रह गरेको छ ।

You may also like