तिलोत्तमा मेलामा सुरक्षा कडा : प्रहरीदेखि सीसीटीभीसम्मको निगरानी

by समतल अनलाइन
38Shares

बुटवल । रुपन्देहीको तिलोत्तमामा सञ्चालित राष्ट्रिय औद्योगिक व्यापार मेलामा सुरक्षा व्यवस्था कडा पारिएको छ । मेलामा हुन सक्ने सम्भावित जोखिम तथा अप्रिय घटना रोक्न नेपाल प्रहरी, निजी सुरक्षा कम्पनीका सुरक्षाकर्मी र बाउन्सर परिचालन गरी निगरानी प्रभावकारी बनाइएको आयोजकले जनाएको छ ।

तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मंसिर ३ गतेदेखि मणिग्राममा सञ्चालन भइरहेको नवौँ तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि, प्रविधि एवं पर्यटन प्रवर्द्धन महोत्सवको सुरक्षाका लागि विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएको छ । मञ्च, स्टल, सचिवालय तथा मेला परिसरका विभिन्न स्थानमा सीसीटीभी क्यामेरासमेत जडान गरी गतिविधिको निगरानी गर्ने व्यवस्था मिलाइएको छ ।

मेलाको सचिवालय र कलाकारहरूको सुरक्षाका लागि विशेष रूपमा बाउन्सरसमेत परिचालन गरिएको छ । मेला आयोजक तिलोत्तमा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा सुरक्षा व्यवस्थापन समितिका संयोजक नरेश क्षेत्रीले दर्शक, व्यवसायी, कलाकार र अतिथिको सुरक्षालाई प्राथमिकतामा राखेर आवश्यक प्रबन्ध मिलाइएको बताए ।

उनका अनुसार सम्भावित दुर्घटनाबाट हुन सक्ने क्षतिको जोखिम व्यवस्थापनका लागि बिमाको व्यवस्थासमेत गरिएको छ । “मेलामा कुनै पनि प्रकारको अप्रिय घटना हुन नदिन हामी पूर्ण रूपमा सचेत छौँ । सुरक्षाकर्मी परिचालनदेखि सीसीटीभी निगरानीसम्मका व्यवस्था मिलाएका छौँ,” उनले भने ।
संघका अध्यक्ष तथा मेला आयोजक मूल समितिका संयोजक ज्ञानेन्द्र कार्कीले सुरक्षासँगै मेला व्यवस्थापन, दर्शकको सहज आवागमन र व्यवसायीको सुरक्षित कारोबारलाई समेत विशेष ध्यान दिइएको बताए ।

‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित आयोजित मेलामा व्यापारिक गतिविधिसँगै उद्यमशीलता प्रवर्द्धनलाई पनि प्राथमिकता दिइएको छ । १४ दिनसम्म सञ्चालन हुने मेलामा करिब ३२५ स्टल रहेका छन् । आयोजकले पाँच लाख दर्शकले मेला अवलोकन गर्ने अपेक्षा गरेको छ ।

मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन तथा गतिविधि समेटिएको संघका महासचिव तथा मेला आयोजक मूल समितिका प्रवक्ता राजकुमार पाण्डेले बताए ।

उनका अनुसार विद्यार्थीलाई उद्यमशीलतातर्फ प्रेरित गर्ने उद्देश्यले सफल उद्यमीका अनुभव, संघर्ष र सफलताका कथा सुनाउने कार्यक्रमसमेत सञ्चालन गरिएको छ ।
मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन, संस्कृति र पर्यटनसँग पनि जोडिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामका कलात्मक संरचना, रामायण शो, तिलोत्तमा आरती, सांस्कृतिक कार्यक्रम तथा बालउद्यान मेलाका प्रमुख आकर्षण बनेका छन् ।
त्यस्तै, तिलोत्तमाका पर्यटकीय गन्तव्यको पहिचान र प्रचारप्रसारका साथै नेपाल आरोग्य वर्ष २०२७ को प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको पर्यटन ग्यालरीमा पनि दर्शकको आकर्षण देखिएको आयोजकले जनाएको छ ।

मेलाअन्तर्गत बुधबार दोहोरी गीत प्रतियोगिता, तिलोत्तमा डान्स आइडल र तिलोत्तमा सिंगिङ आइडलका प्रतिस्पर्धात्मक कार्यक्रम सञ्चालन भएका थिए । त्यसैगरी गायक अर्जुन सापकोटा, रामजी खाँण, दीपक दर्लामी, गायिकाहरू शकुन्तला गैरे र कोपिला न्यौपाने तथा हास्यकलाकार विष्णु जी पाण्डे (माइला बा) लगायत स्थानीय कलाकारले सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुति दिएका थिए ।

You may also like