4
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहीबार देशभर कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव रहेको छैन।
हाल बाँके, दाङलगायत तराईका अधिकांश स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ भने देशका अन्य भू–भागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रसहित गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

त्यसैगरी, आज राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ भने देशका अन्य स्थानमा मौसम मुख्यतया सफा रहनेछ।
महाशाखाका अनुसार भोलि बिहान उपत्यका तथा खोँचहरूका साथै तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना रहेको छ।

