बुटवल । रुपन्देहिको तिलोत्तमामा सञ्चालन भइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलामा ब्यूटी एक्स्पोले पनि आकर्षण थपेको छ । सौन्दर्य व्यवसायको प्रवर्द्धन, व्यावसायिक सीपको प्रदर्शन र ब्युटिसियनलाई प्रोत्साहन गर्ने उद्देश्यले मेलामा छुट्टै ब्यूटी एक्स्पो सञ्चालन गरिएको छ ।
सौन्दर्य व्यवसाय, व्यावसायिक सीपको प्रदर्शन र ब्युटिसियनलाई प्रोत्साहन गर्ने उद्देश्यले मेलामा छुट्टै ब्यूटी एक्स्पो सञ्चालन गरिएको हो ।
तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा मणिग्राममा जारी नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेलामा ब्यूटी एक्स्पोमा ६ वटा पार्लरका स्टल राखिएका छन् । आयोजकले ती स्टल व्यवसाय प्रवर्द्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले निःशुल्क उपलब्ध गराएको संघका अध्यक्ष तथा मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

मेलामा रहेका करिब ३२५ स्टलमध्ये सौन्दर्य व्यवसायसँग सम्बन्धित ६ वटा स्टललाई निःशुल्क स्थान उपलब्ध गराइएको उनले बताए । उनका अनुसार मेलामार्फत विभिन्न क्षेत्रका व्यवसायलाई एकै थलोमा प्रवर्द्धन गर्ने र नयाँ उद्यमीलाई प्रोत्साहित गर्ने प्रयास गरिएको छ ।
ब्यूटी एक्स्पोलाई थप आकर्षक र प्रतिस्पर्धात्मक बनाउन मेला अवधिमा जिल्ला स्तरीय मेकअप प्रतियोगिता आयोजना गरिएकाे छ । मंसिर १२ गते शनिबार हुने प्रतियोगितामा सहभागी हुन १० जना ब्युटिसियनले नाम दर्ता गराइसकेको एक्स्पो संयोजक तथा संघकी कार्यसमिति सदस्य अञ्जना केसीले बताइन् ।
प्रतियोगितामा सहभागी ब्युटिसियनले आफ्नो व्यावसायिक सीप, सिर्जनशीलता र दक्षता प्रदर्शन गर्ने अवसर पाउनेछन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिनेछ भने सहभागीलाई सहभागिताको प्रमाणपत्र उपलब्ध गराइने केसीले जानकारी दिइन् ।
मेलालाई उद्योग, व्यापार र कृषिको प्रदर्शनीसँगै सीप, उद्यमशीलता र सेवामूलक व्यवसायको प्रवर्द्धन गर्ने साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्यअनुरूप ब्यूटी एक्स्पो सञ्चालन गरिएको हाे । यसले सौन्दर्य व्यवसायमा आबद्ध महिलालाई आफ्नो सीप र सेवा चिनाउने तथा सम्भावित ग्राहकसँग जोडिने अवसरसमेत प्रदान गर्ने अपेक्षा गरिएको छ ।
यहि मंसिर ३ गतेदेखि ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ नारासहित आयोजित मेला १४ दिनसम्म सञ्चालन हुनेछ । मेलामा पाँच लाख दर्शकले अवलोकन गर्ने र करिब १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
मेलामा औद्योगिक उत्पादन, कृषि उपज, प्रविधि तथा पर्यटनसँग सम्बन्धित सामग्री र सेवाको प्रदर्शनी तथा बिक्री भइरहेको छ । कृषि र पर्यटन प्रवर्द्धनलाई प्राथमिकता दिँदै विभिन्न क्षेत्रका उत्पादन तथा गतिविधिलाई समेटिएको संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीले बताए ।
व्यापारिक गतिविधिसँगै मनोरञ्जन, कला र संस्कृतिलाई पनि मेलामा समेटिएको छ । पशुपतिनाथ मन्दिर, लुम्बिनी, मुक्तिनाथ र जनकपुरधामको कलात्मक स्वरूपमा तयार गरिएका संरचना, रामायण शो, बालउद्यान, तिलोत्तमा आरती तथा विभिन्न सांस्कृतिक कार्यक्रमले मेलाको आकर्षण बढाएका छन् । तिलोत्तमाभित्रका पर्यटकीय गन्तव्यको पहिचान र नेपाल आराेग्य वर्ष २०२७, प्रचारप्रसारका लागि पर्यटन ग्यालरीसमेत राखिएको छ ।
मेलामा साेमबार गायक/गायिकाहरु सिर्जना खत्री, शिव हमाल, श्यामकला भण्डारी, लक्ष्मी बस्नेत, विष्णु सिंजाली लगायतका कलाकारहरु तथा लाइभ व्याण्डकाकाे प्रस्तुती रहेकाे थियाे । त्यसैगरी दाेहाेरी गित प्रतियाेगिता, तिलाेत्तमा डान्स आइडल, तिलाेत्तमा सिङ्गिङ् आइडलका प्रतिस्पर्धा भएका छन् ।

