आजको मौसम : कोशी र मधेशमा हल्का वर्षाको सम्भावना, तराईमा हुस्सु लाग्ने

by समतल अनलाइन
63Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आइतबार नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायु तथा पूर्वी क्षेत्रमा भारतको ओडिसा आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
महाशाखाका अनुसार हाल कोशी प्रदेशसहित देशका हिमाली भूभागमा आंशिक बदली रहेको छ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ ।
आज दिउँसो मधेश र कोशी प्रदेशका साथै गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने अनुमान छ । कोशी प्रदेशको तराई क्षेत्र तथा मधेश प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।
त्यस्तै, आज राति देशका हिमाली क्षेत्र, कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बदली रहनेछ । बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।
राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

You may also like