बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–५ मणिग्राममा सञ्चालन भइरहेको नवौँ राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि, प्रविधि एवम् पर्यटन प्रवर्द्धन महोत्सवमा स्थानीय उत्पादनप्रति दर्शकको आकर्षण बढ्दै गएको छ । स्थानीय उद्यमीले उत्पादन गरेका वस्तुको प्रदर्शनी तथा बिक्रीका लागि राखिएका स्टलमा अवलोकनकर्ताको चासो देखिएको हो ।
स्थानीय उत्पादनको प्रवर्द्धन र बजारीकरणलाई प्राथमिकता दिँदै मेलामा २६ वटा स्टल छुट्टै व्यवस्था गरिएको छ । तिलोत्तमा नगरपालिकासँगको सहकार्यमा राखिएका ती स्टलमा स्थानीय उद्यमीले तयार पारेका हस्तकलाका सामग्री, खाद्यान्न, खेलौना, अचारलगायतका वस्तु प्रदर्शनी तथा बिक्रीका लागि राखिएका छन् ।
तिलोत्तमा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष तथा मेला मूल आयोजक समितिका सहसंयोजक सुरज पंगेनीका अनुसार स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने र साना तथा घरेलु उद्यमीलाई आफ्नो उत्पादन चिनाउने अवसर प्रदान गर्ने उद्देश्यले स्टलको व्यवस्था गरिएको हो । स्थानीयस्तरमा बनेका सामग्रीप्रति उपभोक्ताको चासो बढ्दै गएको उनले बताए ।
शनिबार सार्वजनिक बिदा परेकाले मेलामा अवलोकन तथा किनमेलका लागि आउने दर्शकको चहलपहल पनि बढेको थियो । स्थानीय उत्पादनका स्टलमा देखिएको चासो र मेलामा बढ्दो सहभागिताले आयोजक तथा व्यवसायीलाई उत्साहित बनाएको संघका अध्यक्ष एवम् मेला मूल आयोजक समितिका संयोजक ज्ञानेन्द्र कार्कीले बताए ।
मेलालाई व्यापारिक प्रदर्शनीमा मात्र सीमित नराखी मनोरञ्जन र प्रतिभा प्रस्तुतिको साझा मञ्चका रूपमा विकास गर्ने उद्देश्यले विभिन्न सांस्कृतिक तथा प्रतियोगितात्मक कार्यक्रमसमेत सञ्चालन भइरहेका छन् । शनिबार गायक तथा कलाकार रमेशराज भट्टराई, घनश्याम रिजाल, प्रचण्ड जिसी, रितु शाही र समीक्षा गैरेसँगै एभरग्रिन टर्टलको प्रस्तुतिले दर्शकलाई मनोरञ्जन प्रदान गरेको थियो ।
त्यस्तै, मेलामा दोहोरी गीत प्रतियोगिता, तिलोत्तमा डान्स आइडल र तिलोत्तमा सिङ्गिङ आइडल पनि सुरु भएका छन् । यी कार्यक्रमले स्थानीय तथा नवप्रतिभालाई आफ्नो कला प्रस्तुत गर्ने अवसर प्रदान गर्ने आयोजकको अपेक्षा छ ।
यसैबीच, मेलास्थलमा अन्तरविद्यालयस्तरीय कराते प्रतियोगिता पनि सुरु भएको छ । जापान गोजु रियो कराते डो मिसन संघ तिलोत्तमाको आयोजनामा सञ्चालित चौथो मिसन गोजुरियो कराते इन्टर डोजो जिल्ला स्तरीय प्रतियोगितामा २१ विद्यालयका १९५ जना विद्यार्थी सहभागी छन् । जापान गोजु रियो कराते डो मिसन संघ नेपालका संस्थापक अध्यक्ष तथा प्रमुख प्रशिक्षक सियान केबी रानाका अनुसार प्रतियोगिता आइतबार समापन हुनेछ ।
समग्र तिलोत्तमामा आयोजना गरिएको यो नवौँ औद्योगिक व्यापार मेला हो भने तिलोत्तमा उद्योग वाणिज्य संघको आयोजनामा भएको चौथो औद्योगिक व्यापार मेला हो । ‘उद्योग, कृषि, प्रविधि र पर्यटनमा लगानी : दिगो आर्थिक विकासका लागि चौथो तिलोत्तमा राष्ट्रिय प्रदर्शनी’ भन्ने नारासहित आयोजना गरिएको मेलामा उद्योग, व्यापार, कृषि, पर्यटन तथा प्रविधिसँग सम्बन्धित करिब ३२५ स्टल रहेका छन् ।
मंसिर ३ गतेदेखि सुरु भएको मेला १४ दिनसम्म सञ्चालन हुनेछ । मेलामा करिब पाँच लाख दर्शकले अवलोकन गर्ने र १२ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजकको अनुमान छ ।
स्थानीय उत्पादनलाई बजारसँग जोड्ने, साना तथा घरेलु उद्योगको विकास गर्ने, उद्यमशीलता प्रवर्द्धन गर्ने र नयाँ प्रविधिबारे जानकारी गराउने लक्ष्य राखिएको मेलाले तिलोत्तमाको आर्थिक तथा व्यावसायिक गतिविधिलाई थप चलायमान बनाउने अपेक्षा गरिएको छ ।

