भारत ‘ए’ सँग नेपालको लज्जास्पद हार, ३०६ रनको फराकिलो अन्तरले पराजित

by समतल अनलाइन
34Shares

राइजिङ स्टार्स एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार कतारको दोहामा भएको खेलमा नेपाल भारत ‘ए’ टोलीसँग ३०६ रनको विशाल अन्तरले पराजित भएको छ। यससँगै अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालले रनका आधारमा बेहोरेको यो अहिलेसम्मकै ठूलो हार बनेको छ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको भारत ‘ए’ ले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा ३३२ रनको बलियो योगफल तयार पारेको थियो। जवाफमा ३३३ रनको लक्ष्य पछ्याएको नेपाली टोली भारतीय बलरहरूको सामना गर्न नसक्दा ११.३ ओभरमै २६ रनमा समेटियो।
नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्। रासिद खानले सर्वाधिक ६ रन बनाए भने पवन सर्राफले पाँच बलमा ६ रन जोडे। प्रतिश जीसी चार रनमा आउट भए। लोकेश बम र कप्तान सन्दीप लामिछानेले रनको खाता खोल्न सकेनन्।

त्यस्तै, अर्जुन कुमाल र कुशल भुर्तेल पनि शून्य रनमै पेभेलियन फर्किए। दीपक डुम्रेले एक, बसिर अहमदले शून्य र नन्दन यादवले दुई रन बनाए। ललित राजवंशी दुई रनमा अविजित रहे।

भारतका बलर प्रिन्स यादव नेपाली ब्याटिङ लाइनअपका लागि सबैभन्दा घातक साबित भए। उनले पाँच ओभर बलिङ गर्दै दुई मेडनसहित केवल ६ रन खर्चेर पाँच विकेट लिए। हर्षित राणाले १६ रन दिँदै चार विकेट हात पारे भने शहबाज अहमदले एक विकेट लिए। नेपालले अतिरिक्तबाट पाँच रन पाएको थियो।

यसअघि भारतीय ब्याट्सम्यानहरूले उत्कृष्ट प्रदर्शन गर्दै विशाल स्कोर खडा गरेका थिए। विकेटकिपर ब्याट्सम्यान कुमार कुशाग्रले ११७ रनको शतकीय पाली खेले भने कप्तान तिलक वर्माले १०७ रन बनाए। दुवै खेलाडीको शतकले भारतलाई बलियो अवस्थामा पुर्‍याएको थियो।

त्यसैगरी, सूर्यांश सेड्गेले आक्रामक ब्याटिङ गर्दै १४ बलमै अविजित ३६ रन जोडे। ओपनर वैभव सूर्यवंशीले पनि २६ रनको योगदान दिए।
नेपालका तर्फबाट बलिङमा सन्दीप लामिछाने र ललित राजवंशीले तीन–तीन विकेट लिए। नन्दन यादवले दुई तथा पवन सर्राफले एक विकेट हात पारेका थिए।
तर, बलिङमा केही विकेट लिन सफल भए पनि नेपाली ब्याटिङले अपेक्षित प्रदर्शन गर्न नसक्दा नेपालले प्रतियोगितामा निकै ठूलो हार बेहोर्नुपरेको छ।

You may also like