रास्वपा सांसदहरूको चीन भ्रमणको अनौपचारिक संवाद सार्वजनिक, देउवा र ओलीबारे टिप्पणीले राजनीतिक तरंग

by समतल अनलाइन
40Shares

चीन भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूबीच नेपालको समसामयिक राजनीति र प्रमुख दलका नेताहरूको भूमिकाबारे भएको अनौपचारिक कुराकानीको भिडियो सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा सुरु भएको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिन आचार्यको नेतृत्वमा २० जना सांसद चीन भ्रमणमा छन्। भ्रमणकै क्रममा सांसदहरूबीच भएको अनौपचारिक संवाद सामाजिक सञ्जालमा सार्वजनिक भएको हो।

भिडियोमा नेपाली कांग्रेसको नेतृत्व, नेकपा एमालेका नेताहरू तथा आगामी स्थानीय निर्वाचनका विषयमा सांसदहरूले धारणा राखेको सुनिन्छ। संवादका क्रममा एक पुरुष सांसदले नेपाली कांग्रेसको नेतृत्व अझै शेरबहादुर देउवाकै हातमा रहनुपर्ने आशय व्यक्त गरेका छन्। त्यसमा एक महिला सांसदले पनि अदालतको फैसलासमेत देउवाकै पक्षमा आउनुपर्ने आशयको प्रतिक्रिया दिएको सुनिन्छ।

त्यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओली र नेता महेश बस्नेतका सार्वजनिक अभिव्यक्तिबारे पनि सांसदहरूबीच चर्चा भएको छ। एक महिला सांसदले स्थानीय निर्वाचनसम्म उनीहरूलाई आफ्ना अभिव्यक्तिमा रोक्न नहुने र विगतभन्दा अझ कडा रूपमा प्रस्तुत हुन दिनुपर्ने धारणा राखेको सुनिन्छ। अन्य सांसदहरूले पनि उनीहरूको अभिव्यक्ति शैलीबारे टिप्पणी गरेका छन्।

संवादमा सहभागी अर्का सांसदले ओली र बस्नेतका अभिव्यक्तिबाट आफ्नो पार्टीले राजनीतिक लाभ लिन सक्ने बताएका छन्। तर, त्यसका लागि रास्वपाले पनि जनतामाझ काम गरेर देखाउनुपर्नेमा उनले जोड दिएका छन्।

उक्त भिडियो भ्रमण टोलीका सदस्य सांसद श्रीराम न्यौपानेले आफ्नो फेसबुकमा रोबोट खेलिरहेको दृश्यसहित पोस्ट गरेका थिए। भिडियोको पृष्ठभूमिमा सांसदहरूबीचको कुराकानीसमेत रेकर्ड भएको थियो। पछि न्यौपानेले उक्त पोस्ट हटाएका थिए। भिडियो सार्वजनिक भएको विषयलाई जनआस्थाका सम्पादक किशोर श्रेष्ठले बाहिर ल्याएका हुन्।

घटनाबारे चर्चा बढेपछि सांसद न्यौपानेले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको विगतको कार्यशैलीप्रति जनतामा असन्तुष्टि रहेको उल्लेख गरेका छन्।
उनका अनुसार पुराना राजनीतिक दलप्रतिको असन्तुष्टि र परिवर्तनको चाहनाका कारण मतदाताले रास्वपालाई ठूलो समर्थन दिएका हुन्।

न्यौपानेले जनताबाट प्राप्त विश्वासलाई उपलब्धिमा बदल्नु पार्टीको मुख्य जिम्मेवारी भएको बताएका छन्। सुशासन, विकास र सार्वजनिक सेवा प्रवाहमा ठोस परिणाम दिन नसके रास्वपाले पनि आगामी दिनमा अन्य दलले भोगेको जनविश्वासको संकट सामना गर्नुपर्ने उनको भनाइ छ।
उनले आफ्नो फेसबुक अभिव्यक्तिमा अनौपचारिक छलफलको निष्कर्ष जनताको मत र विश्वास सधैँ कायम नरहने तथा त्यसलाई काम, इमानदारी र परिणाममार्फत प्रमाणित गर्नुपर्ने रहेको स्पष्ट पारेका छन्।

विपिन आचार्य नेतृत्वको भ्रमण टोलीमा संसदीय दलका उपनेता गणेश पराजुली, सहमहामन्त्री हरि ढकाल, मुख्य सचेतक कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा, धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, राम लामा, पुनमकुमारी अग्रवाल, आनन्दबहादुर चन्द, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा सहभागी छन्।
भिडियो सार्वजनिक भएसँगै सांसदहरूको निजी तथा अनौपचारिक संवाद, त्यसको राजनीतिक सन्दर्भ र जनताप्रतिको जवाफदेहिताबारे बहस सुरु भएको छ।

You may also like