भैरहवा । नेपाली कांग्रेसको नियमित महाधिवेशनको पक्षमा रहेको शेरबहादुर देउवा समूहले रुपन्देहीमा जिल्ला अधिवेशन गर्ने तयारी गरेको छ। आगामी मंसिर ६ गते भैरहवामा आयोजना हुने अधिवेशनका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ।

अधिवेशन व्यवस्थापन समितिले शुक्रबार भैरहवामा पत्रकार सम्मेलन गरी कार्यक्रमको तयारी र कार्यतालिकाबारे जानकारी गराएको हो।
समितिका संयोजक अधिवक्ता कृष्णप्रसाद पोखरेलले जिल्ला अधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक सबै तयारी अघि बढाइएको बताए। उनका अनुसार अधिवेशनअघि आइतबार बिहान ११ बजे भैरहवास्थित बुद्धचोकबाट र्याली निकालिनेछ।
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको जानकारी दिँदै पोखरेलले जिल्ला नेतृत्व चयनका लागि पहिलो प्राथमिकता सर्वसम्मतिलाई दिइने बताए। सहमति हुन नसकेको अवस्थामा भने निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन गरिने उनको भनाइ छ।
अधिवेशनमा कांग्रेसका केन्द्रीय नेता डा. शशांक कोइराला, विमलेन्द्र निधिलगायतका नेताहरू सहभागी हुने आयोजकले जनाएको छ।
पत्रकार सम्मेलनमा पोखरेलले गगन थापा र विश्वप्रकाश शर्मा समूहसँग सम्बन्धित विशेष महाधिवेशनप्रति असहमति जनाउँदै त्यसले पार्टीको समग्र भावनालाई प्रतिनिधित्व गर्न नसकेको टिप्पणी गरे। उनले नियमित महाधिवेशन नै पार्टीको आधिकारिक महाधिवेशन भएको दाबी गर्दै यसले सबै पक्षलाई समेट्ने विश्वास व्यक्त गरे।
त्यस्तै, निर्वाचन आयोगले कांग्रेसको चुनाव चिह्न ‘रुख’ गगन–विश्व समूहलाई दिने गरी गरेको निर्णयप्रति असन्तुष्टि जनाउँदै पोखरेलले उक्त निर्णय गलत भएको जिकिर गरे। नियमित महाधिवेशनको पक्षमा सर्वोच्च अदालतबाट फैसला आउने विश्वाससमेत उनले व्यक्त गरे।
कार्यक्रममा कांग्रेस नेता तथा रुपन्देही जिल्लाका केन्द्रीय प्रतिनिधि डा. दामोदर भुसालले जिल्ला र प्रदेश अधिवेशनपछि मंसिर २१, २२ र २३ गते केन्द्रीय महाधिवेशन आयोजना गरी नयाँ नेतृत्व चयन गरिने जानकारी दिए। उनले विशेष महाधिवेशनलाई प्रायोजित भएको आरोप लगाउँदै नियमित महाधिवेशनले पार्टीलाई नयाँ दिशा दिने दाबी गरे।
यसैबीच, भुसालले नेपाली कांग्रेसको आगामी लुम्बिनी प्रदेश अधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनको घोषणासँगै लुम्बिनी प्रदेशको पार्टी नेतृत्व चयनको विषय पनि चर्चामा आएको छ।
रुपन्देही जिल्ला अधिवेशनलाई देउवा पक्षले आफ्नो संगठनात्मक गतिविधि र शक्ति प्रदर्शन गर्ने अवसरका रूपमा लिएको छ। अधिवेशनबाट नेतृत्व सर्वसम्मत चयन हुन्छ वा निर्वाचनमार्फत प्रतिस्पर्धा हुन्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ।

