विपन्न विद्यार्थीलाई नयाँ कपडा वितरण गर्न पहिलो पाइला नेपाल बुटवल शाखाको मंसिर २ र ३ गते देउसीभैलो

by समतल अनलाइन
28Shares

बुटवल । विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नयाँ कपडा वितरण गर्ने उद्देश्यले पहिलो पाइला नेपाल बुटवल शाखाले सांस्कृतिक देउसीभैलो कार्यक्रम आयोजना गर्ने भएको छ ।

‘हाम्रो संस्कृति, हाम्रो पहिचान, समाज रूपान्तरणमा हाम्रो अभियान’ भन्ने मूल नारासहित आयोजना हुन लागेको उक्त कार्यक्रम मंसिर २ र ३ गते बुटवलका विभिन्न स्थानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

नेपाली मौलिक कला, संस्कृति र परम्पराको संरक्षणसँगै सामाजिक सेवाको भावनालाई जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो । देउसीभैलोमार्फत संकलित सहयोग विपन्न तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई नयाँ कपडा वितरण गर्न खर्च गरिनेछ ।

पहिलो पाइला नेपाल बुटवल शाखाका अध्यक्ष गौरव खनालले संस्कृति संरक्षणसँगै आवश्यकतामा रहेका बालबालिकालाई सहयोग पुर्‍याउने उद्देश्यले अभियान अघि सारिएको बताए । उनले यस सामाजिक अभियानमा सहभागी भई सहयोग गर्न सबै व्यक्ति, संघसंस्था तथा व्यवसायीलाई आग्रह गरेका छन् ।

सांस्कृतिक देउसीभैलोमार्फत मनोरञ्जनसँगै सामाजिक सेवामा योगदान पुर्‍याउने लक्ष्य आयोजकले राखेको छ ।

You may also like