भोटेकोशी बाढी प्रभावित त्रिशूली बजारमा मानव धर्म सेवा समितिको सरसफाइ अभियान, १५० स्वयंसेवक परिचालित

by समतल अनलाइन
23Shares

नुवाकोट । भोटेकोशी बाढीका कारण प्रभावित नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली बजार क्षेत्रमा नेपाल मानव धर्म सेवा समितिले बृहत् सरसफाइ तथा श्रम सेवा कार्यक्रम सम्पन्न गरेको छ।

परमपूज्य श्री विभुजी महाराजको विशेष नेतृत्वमा सञ्चालन गरिएको अभियानमा समितिका १५० जना सदस्य तथा स्वयंसेवक प्रत्यक्ष रूपमा श्रम सेवामा खटिएका थिए। उनीहरूले बाढीबाट प्रभावित त्रिशूली नदी तटीय क्षेत्रका घर, सडक तथा आसपासका स्थानमा सरसफाइ गरेका हुन्।
अभियानमा समितिको बुटवल स्वयंसेवक दल तथा युवा संगठनका सदस्यहरूको समेत सक्रिय सहभागिता रहेको युवा सदस्य दीपक पंगेनीले जानकारी दिए।

कार्यक्रममा विदुर नगरपालिकाका नगर प्रमुख राजन श्रेष्ठ, उपप्रमुख, वडा नं. १ का अध्यक्ष लेलिन रञ्जित, वडा नं. ४ र ५ का वडा अध्यक्षलगायत स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको सहभागिता रहेको थियो।

बाढी प्रभावित क्षेत्रको पुनःस्थापना तथा सरसफाइमा सहयोग पुर्‍याउने उद्देश्यले स्थानीय तह र समुदायको सहकार्यमा विपद् प्रभावित तथा स्वयंसेवकहरूका लागि सामुदायिक भान्सासमेत सञ्चालन गरिएको थियो।

कार्यक्रममा महात्मा लता बाईजीले नेपाल मानव धर्म सेवा समितिले धार्मिक गतिविधिसँगै मानवीय तथा सामाजिक सेवाका कार्यलाई पनि निरन्तरता दिँदै आएको बताइन्। उनले बाढीका कारण अस्तव्यस्त बनेको त्रिशूली बजारको जनजीवन र व्यापार व्यवसायलाई पुनः सामान्य अवस्थामा फर्काउन अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरिन्।

समितिका केन्द्रीय सचिव नवीन कोइरालाका अनुसार विपद् प्रभावित क्षेत्रमा सञ्चालन गरिएको सरसफाइ तथा श्रम सेवा अभियान दुई दिनसम्म जारी रहनेछ।

You may also like