आज भाइटीका, दिदीबहिनीबाट दाजुभाइले टीका लगाउँदै

by समतल अनलाइन
23Shares

काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका पर्व हर्षोल्लासका साथ मनाइँदैछ। कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने यस पर्वमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई दीर्घायु, सुस्वास्थ्य, सुख, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाइदिने गर्छन्।

आजको दिनलाई यमद्वितीया पनि भनिन्छ। धार्मिक मान्यताअनुसार दिदीबहिनीले दाजुभाइको पूजा गरी टीका लगाइदिने र दाजुभाइले पनि दिदीबहिनीबाट टीका ग्रहण गरी उनीहरूको सुख, सौभाग्य र समृद्धिको कामना गर्ने परम्परा छ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा छैन। साइत खोजेर टीका लगाउन चाहनेका लागि बिहान ११ बजेर ७ मिनेटको समय उत्तम रहेको समितिले जनाएको छ। समितिका अनुसार टीका लगाउँदा दाजुभाइ पश्चिम र दिदीबहिनी पूर्व फर्कनुपर्नेछ।

तिहारमा सप्तरङ्गी टीका लगाउने प्रचलन व्यापक भए पनि शास्त्रीय मान्यताअनुसार रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच रङको टीका लगाउने उल्लेख छ।

टीका लगाएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला, सेलरोटी तथा विभिन्न परिकार दिने चलन छ। दाजुभाइले पनि दिदीबहिनीलाई गच्छेअनुसार कपडा, दक्षिणा तथा उपहार दिएर सम्मान र माया प्रकट गर्ने गर्छन्।

भाइटीका दाजुभाइ र दिदीबहिनीबीचको प्रेम, आत्मीयता, सद्भाव र पारिवारिक सम्बन्धलाई अझ प्रगाढ बनाउने विशेष पर्वका रूपमा मनाइन्छ।

You may also like