आजको मौसम : हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुस्सु लाग्ने

by समतल अनलाइन
19Shares

काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले आज देशका विभिन्न स्थानमा बादल लाग्ने तथा केही क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागमा आंशिक बादल लागेको छ भने देशका बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ। बाँकी हिमाली तथा पहाडी भूभागका साथै मधेश प्रदेशमा आंशिक बादल लाग्ने र तराईका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्नेछ। त्यस्तै, कोशी, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

मधेश तथा कोशी प्रदेशका तराईका एक–दुई स्थानमा पनि हल्का वर्षा हुन सक्ने पूर्वानुमान छ।

यसैगरी, आज राति देशका हिमाली भूभागमा आंशिक बादल लाग्ने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार तराईका भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ।

You may also like