रुपन्देहीमा पटका पड्काएर आतिशबाजी गर्ने ७ जना प्रहरी नियन्त्रणमा

by समतल अनलाइन
50Shares

बुटवल । तिहारका बेला प्रतिबन्धित पटका पड्काएर आतिशबाजी गर्ने सात जनालाई रुपन्देही प्रहरीले नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये दुई जना पटका पड्काउँदा एक व्यक्ति घाइते भएको घटनामा संलग्न रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २३ गते साँझ पौने ७ बजे कञ्चन गाउँपालिका–१ हात्तीबजार चोकमा लालिगुँरास युवा क्लबले भैलो खेलिरहेका बेला पटका पड्काउँदा एक जना घाइते भएका थिए।

उक्त घटनामा संलग्न रहेको आरोपमा कपिलवस्तुको बाणगंगा नगरपालिका–२ का कृष्ण परियार र आर्यन परियारलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएको थियो। घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।

यसैगरी, जिल्लाका विभिन्न स्थानमा अवैध रूपमा पटका पड्काउँदै आतिशबाजी गरिरहेको अवस्थामा प्रहरीले थप पाँच जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रुपन्देहीको रोहिणी गाउँपालिका–३ धकधईका किसन मिश्र, रोहिणी–४ का पञ्चम हरिजन, रोहिणी–१ का अंगत कुमार कहार, सिद्धार्थनगर नगरपालिका–४ का हेमसल बरई र बुटवल उपमहानगरपालिका–११ बुद्धनगरका सन्देश परियार रहेका छन्।

नियन्त्रणमा लिइएका सातै जनामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिएका छन्।

You may also like