‘टाइम’को सन् २०२६ का १०० जलवायु नेतृत्वकर्ताको सूचीमा नेपालका अर्थमन्त्री स्वर्णिम वाग्ले

by समतल अनलाइन
30Shares

काठमाडौं । नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्वप्रसिद्ध अमेरिकी पत्रिका ‘टाइम’ले सार्वजनिक गरेको सन् २०२६ का जलवायु नेतृत्वकर्ताको सूचीमा परेका छन् ।

जलवायु परिवर्तनविरुद्ध व्यावसायिक क्षेत्रमा मापनयोग्य, प्रभावकारी र समतामूलक काम अघि बढाउने विश्वभरका १०० नेतृत्वकर्ताको सूचीमा वाग्ले पनि समेटिएका हुन् । ‘टाइम–१०० क्लाइमेट २०२६’ सूचीमा उनलाई ‘लिडर्स’ समूहमा राखिएको छ ।

‘टाइम’मा प्रकाशित विवरणअनुसार नेपालमा गत अगस्टमा हिमताल विस्फोटपछि भोटेकोशी नदीमा आएको बाढीले ठूलो जनधनको क्षति पुर्‍याएपछि वाग्लेले जलवायु परिवर्तनबाट बढी प्रभावित विकासशील मुलुकको अवस्थालाई अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउँदै आएका छन् ।

विश्वव्यापी हरितगृह ग्यास उत्सर्जनमा नेपालको योगदान न्यून भए पनि जलवायु सङ्कटको असर नेपालजस्ता कमजोर मुलुकले बढी भोग्नुपरेको विषयमा उनले जोड दिँदै आएका छन् ।

बाढीपछिको पुनर्निर्माणका लागि करिब ५ अर्ब अमेरिकी डलर आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसका लागि वाग्लेले जलवायु क्षति तथा नोक्सानी कोषमार्फत अन्तर्राष्ट्रिय सहयोग जुटाउन पहल गरेका थिए । नेपालले जलवायु क्षतिपूर्तिका लागि चीन, अमेरिका र भारतसँग समेत औपचारिक आग्रह गरेको विवरणमा उल्लेख छ । संयुक्त राष्ट्रसङ्घले अक्टोबर २२ मा उक्त कोषबाट नेपाललाई २ करोड १६ लाख अमेरिकी डलर उपलब्ध गराउने प्रस्तावलाई प्रारम्भिक स्वीकृति दिएको ‘टाइम’ले जनाएको छ । 
यस वर्षको सूचीमा वाग्लेसँगै सामोआकी पूर्वप्रधानमन्त्री फियामे नाओमी माताफा, बेलायतका राजकुमार विलियम, युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस पनि समेटिएका छन् ।

त्यस्तै, कोप–३१ का नेतृत्वकर्ता मुरात कुरुम र क्रिस बोवेन, भारतको महिन्द्रा लास्ट माइल मोबिलिटीकी प्रमुख सुमन मिश्रा, आइबरड्रोला एस्पानाका प्रमुख मारियो रुइज–टाग्ले तथा चिलीका प्राध्यापक एवं पूर्वयातायातमन्त्री हुआन कार्लोस मुनोज पनि सूचीमा छन् ।
‘टाइम’ले पछिल्लो १२ महिनामा जलवायु क्षेत्रमा मापनयोग्य तथा दिगो उपलब्धि हासिल गरेका व्यक्तिहरूलाई आधार बनाएर १०० नेतृत्वकर्ता छनोट गरेको जनाएको छ । सूचीलाई टाइटन्स, लिडर्स, इनोभेटर्स, डिफेन्डर्स र क्याटालिस्ट्स गरी पाँच समूहमा विभाजन गरिएको छ ।

You may also like