बालेनलाई आवश्यक कर्मचारी दिएको भए दोस्रोपटक पनि मेयर उठ्थे : चन्द्र भण्डारी

by समतल अनलाइन
48Shares

बुटवल। नेपाली कांग्रेसका उपसभापति डा. चन्द्र भण्डारीले काठमाडौं महानगरपालिकाको मेयर रहँदा बालेन्द्र शाह (बालेन) लाई आवश्यक कर्मचारी उपलब्ध गराउन तत्कालीन राजनीतिक नेतृत्वले चासो नदेखाउँदा अहिलेको राजनीतिक परिस्थिति निर्माण भएको टिप्पणी गर्नुभएको छ।

नेपाली कांग्रेस रूपन्देही क्षेत्र नम्बर–२ ले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै भण्डारीले तत्कालीन सरकार र राजनीतिक दलहरूको बेवास्ताका कारण बालेनप्रति असन्तुष्टि र निराशा बढेको बताउनुभयो।

महानगरपालिकाको मेयर हुँदा बालेनले आफूलाई आवश्यक अधिकृत उपलब्ध गराइदिन आग्रह गरेको प्रसंग उल्लेख गर्दै उहाँले यस विषयमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेता तथा मुख्यसचिव र सचिवहरूसँग समेत कुरा गरेको बताउनुभयो।

भण्डारीले भन्नुभयो, “बालेनजी र मेरोबीच नेपालको राजनीतिको बारेमा लामो कुरा भयो। उहाँले मलाई अधिकृत पठाइदिन भन्नुभयो। मैले सबै नेता, मुख्यसचिवदेखि सचिवसम्मलाई भनेँ। केपी ओली र शेरबहादुर दाइलाई पनि भनेँ। तर आफ्नो महत्त्वाकांक्षाले कसैले मानेनन्। आज त्यो कुरा मानेको भए बालेन दोस्रोपटक मेयर उठ्थे।”

नेतृत्वको पद र व्यक्तिगत महत्त्वाकांक्षाका कारण समयमै आवश्यक निर्णय हुन नसक्दा त्यसको राजनीतिक परिणाम अहिले देखिएको उहाँको भनाइ थियो। तत्कालीन नेतृत्वले बालेनको माग सम्बोधन नगर्नु र जनताको अपेक्षालाई बेवास्ता गर्नुले जेनजी आन्दोलनको परिस्थिति निर्माण गर्न भूमिका खेलेको उहाँले टिप्पणी गर्नुभयो।

भण्डारीले वर्तमान सरकारले विगत ३५ वर्षमा केही पनि भएन भन्ने भाष्य निर्माण गर्न नहुने बताउँदै लोकतन्त्र स्थापना, विकास निर्माण र पूर्वाधार विकासमा विगतका राजनीतिक दल तथा सरकारको योगदानलाई पनि सम्मान गर्नुपर्ने धारणा राख्नुभयो।

उहाँले बालेनको नेतृत्वलाई विगतका पुस्ताले गरेको संघर्ष र निर्माणको जगमाथि उभिएको उल्लेख गर्दै भन्नुभयो, “हामीले बनाएको घरभित्र बालेन आएका हुन्। यो घर बनाउन हजारौँको रगत र बलिदान परेको छ। केपी ओलीले कीर्तिपुरको स्टेडियम बनाउन मिहिनेत गर्नुभयो, त्यसको उद्घाटन बालेनजीले गर्नुभयो। आफूले टुँडिखेलमा लगाएको दुबो मात्रै देख्ने प्रवृत्ति राम्रो होइन।”

सामाजिक सञ्जालमा लोकप्रियता र समर्थकको संख्या बढाउँदैमा प्रभावकारी सरकार सञ्चालन हुन नसक्ने भन्दै उहाँले जनताको पक्षमा काम गरेर विश्वास जित्नुपर्ने बताउनुभयो। युवाको ऊर्जा, क्षमता र सिर्जनशीलतालाई विकास निर्माणमा परिचालन गर्न सके मुलुकले छोटो समयमै प्रगति गर्न सक्ने उहाँको भनाइ थियो।

कांग्रेसले वर्तमान सरकारलाई अस्थिर बनाउने नभई पूर्ण कार्यकाल काम गर्ने वातावरण बनाउन चाहेको स्पष्ट पार्दै भण्डारीले सरकार पाँच वर्षसम्म चलोस् भन्ने आफ्नो पार्टीको धारणा रहेको बताउनुभयो।

“हाम्रो पार्टीले र पार्टी सभापतिले यो सरकार पाँच वर्ष चलोस् भन्ने चाहेका छौँ। हामीले सहयोग गर्छौँ,” उहाँले भन्नुभयो, “यो देश पाँच–छ वर्षमा समृद्ध बन्न सक्छ। युवालाई नेपालमै राख्ने, सीप र तालिम दिने तथा जनतालाई विकाससँग जोड्ने हो भने सम्भावना धेरै छन्।”
सरकारका कामकारबाहीमा कमजोरी वा अनियमितता देखिए कानुनी प्रक्रियाबाट कारबाही गर्नुपर्ने उल्लेख गर्दै उहाँले आरोप–प्रत्यारोपमा अल्झिएर विकासका काम प्रभावित पार्न नहुने धारणा राख्नुभयो। कांग्रेसका नेता गगन थापा वा पार्टीका अन्य कुनै व्यक्तिले कारबाही गर्नुपर्ने काम गरेको भए कानुनअनुसार कारबाही गर्न चुनौती दिँदै उहाँले सरकारलाई काममा केन्द्रित हुन आग्रह गर्नुभयो।

राजनीतिमा लोकप्रियता र भीडभन्दा व्यक्तिको क्षमता, योग्यता र सम्भावनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भण्डारीले विगतमा विद्यार्थीलाई जिम्मेवारी दिँदा शैक्षिक योग्यता र क्षमताका आधारमा अवसर दिएको अनुभव पनि सुनाउनुभयो। आफूले चिकित्सक बन्न प्रेरित गरेका एक व्यक्ति अहिले शिक्षण अस्पतालमा छाती रोग विशेषज्ञका रूपमा कार्यरत रहेको उहाँले जानकारी दिनुभयो।

कार्यक्रममा भण्डारीले पहाड र तराईलाई अलग्याउने सोचको विरोध गर्दै नेपालको भौगोलिक एकता र प्राकृतिक स्रोतसाधनको एकीकृत उपयोगबाट मात्रै समृद्धि सम्भव हुने बताउनुभयो।

तराईको कृषि उत्पादन र पहाडको जलस्रोतलाई एकअर्कासँग जोडेर विकास गर्न सके मुलुकले आर्थिक समृद्धि हासिल गर्न सक्ने उहाँको भनाइ थियो। पहाड र तराईलाई छुट्याउने निर्णय रोक्न आफूले तत्कालीन प्रधानमन्त्रीहरू सुशील कोइराला, पुष्पकमल दाहाल र केपी शर्मा ओलीसँग समेत छलफल गरेको स्मरण गर्दै उहाँले राष्ट्रिय एकता र भौगोलिक अखण्डताका विषयमा राजनीतिक नेतृत्व गम्भीर हुनुपर्नेमा जोड दिनुभयो।

भण्डारीले राजनीतिक दलहरूबीच प्रतिस्पर्धा र मतभिन्नता स्वाभाविक भए पनि मुलुकको विकास, राष्ट्रिय एकता र युवाको भविष्यका सवालमा साझा दृष्टिकोण बनाएर अघि बढ्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

You may also like

This will close in 0 seconds