बुटवलमा तीन दिनसम्म ‘दीपावली सडक खाना महोत्सव’ हुने

by समतल अनलाइन
41Shares

बुटवल । नेपालीको महान् पर्व तिहार (दीपावली) को अवसर पारेर बुटवलमा तीन दिने ‘दीपावली सडक खाना महोत्सव’ आयोजना हुने भएको छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा आगामी कात्तिक २० देखि २२ गतेसम्म बुटवल उपमहानगरपालिका–८ सुख्खानगरस्थित सुक्रपथमा महोत्सव सञ्चालन हुने भएको हो । महोत्सवको तयारी भइरहेको संघका महासचिव बसन्तप्रसाद ढकालले जानकारी दिए ।

संघका अध्यक्ष नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा मंगलबार बसेको कार्यसमिति बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापनका लागि विभिन्न पदाधिकारी र सदस्यलाई जिम्मेवारी बाँडफाँट गरेको छ । बैठकले महोत्सव सञ्चालन तथा व्यवस्थापन मूल समितिको संयोजकमा अध्यक्ष पौडेललाई जिम्मेवारी दिएको छ ।

त्यस्तै निवर्तमान अध्यक्ष हरिप्रसाद अर्याललाई मूल्यांकन, वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलाई सहसंयोजक तथा उद्योग उपाध्यक्ष दिनेश श्रेष्ठ र वाणिज्य उपाध्यक्ष मुक्तिप्रसाद अधिकारीलाई उपसंयोजकको जिम्मेवारी दिइएको महासचिव ढकालले बताए ।

महासचिव ढकाललाई प्रशासन तथा समन्वय, कोषाध्यक्ष टीकाराम वञ्जाडेलाई आर्थिक व्यवस्थापन, सचिव दीपक चापागाईंलाई स्टल तथा पूर्वाधार व्यवस्थापन र सहकोषाध्यक्ष कमला पोखरेललाई सांस्कृतिक कार्यक्रम व्यवस्थापनको जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी सुरक्षा, ट्राफिक तथा पार्किङ, सरसफाइ र स्टल व्यवस्थापनको जिम्मेवारीसमेत कार्यसमिति सदस्यहरूलाई छुट्याइएको छ ।

महोत्सव हरेक दिन अपराह्न ४ बजेदेखि राति १० बजेसम्म सञ्चालन हुनेछ । महोत्सवमा करिब ५० वटा स्टल रहनेछन् । ती स्टलमा स्थानीय तथा विभिन्न जातजातिका मौलिक संस्कृति र परम्परासँग जोडिएका रैथाने खानाका परिकारसँगै तिहारमा प्रयोग हुने खाद्यान्न, फूलमाला तथा अन्य सामग्री राखिने संघले जनाएको छ ।

स्थानीय उत्पादन, मौलिक परिकार र व्यवसायको प्रवर्द्धन गर्दै उद्यमी तथा व्यवसायीलाई बजार विस्तारको अवसर उपलब्ध गराउने महोत्सवको लक्ष्य रहेको छ । एउटै स्थानमा खानाका विविध परिकार, तिहारका सामग्री, सांस्कृतिक प्रस्तुति र मनोरञ्जनका कार्यक्रम समेटिने भएकाले महोत्सवले चाडपर्वको रौनक बढाउनुका साथै बुटवलको आर्थिक तथा व्यावसायिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने महोत्सवमा देउसीभैलो प्रतियोगिता, स्थानीय ब्यान्ड तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहनेछ । कार्यक्रमअनुसार पहिलो दिन औपचारिक उद्घाटनपछि देउसीभैलो प्रतियोगिता आयोजना गरिनेछ । दोस्रो दिन स्थानीय ब्यान्डहरूको प्रस्तुति रहनेछ भने अन्तिम दिन राष्ट्रिय कलाकारहरूले सांगीतिक प्रस्तुति दिने संघले जनाएको छ ।
दीपावलीको सांस्कृतिक तथा धार्मिक महत्त्वलाई संरक्षण र प्रवर्द्धन गर्दै स्थानीय कला, संस्कृति र परम्पराको पहिचान स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको संघले जनाएको छ ।

You may also like

This will close in 0 seconds