बुटवल उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिले सम्हाल्यो पदभार

by समतल अनलाइन
55Shares

बुटवल । बुटवल उद्योग वाणिज्य संघमा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरणसहित पदस्थापन गरिएको छ । सोमबार आयोजित कार्यक्रममा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गर्दै औपचारिक रूपमा पदभार सम्हालेका हुन् ।

संघको ७३औँ वार्षिक साधारण सभा तथा २६औँ अधिवेशनबाट नरिश्वर शर्मा पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको थियो । नवनिर्वाचित कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत अधिवक्ता बाबुराम पाण्डेले शपथ ग्रहण गराएका थिए ।

नयाँ कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा सुरज भट्टराई, उद्योग उपाध्यक्षमा दिनेश श्रेष्ठ, वाणिज्य उपाध्यक्षमा मुक्तिप्रसाद अधिकारी, महासचिवमा बसन्तप्रसाद ढकाल, कोषाध्यक्षमा टीकाराम बञ्जाडे, सचिवमा दीपक चापागाईं र सहकोषाध्यक्षमा कमला पोखरेल निर्वाचित भएका छन् ।

त्यस्तै, कार्यसमिति सदस्यमा एसोसिएटतर्फ बालकृष्ण पौडेल, उद्योगतर्फ सुनिता शर्मा बञ्जाडे, गोपाल टण्डन, लेखनाथ भण्डारी र ज्ञानबहादुर पुन निर्वाचित भएका छन् । वाणिज्यतर्फ गणेशप्रसाद भट्टराई, सुनिता गिरी, रामबहादुर भण्डारी र उमेश अमात्य तथा खुलातर्फ विष्णु (कमला) पन्थ घिमिरे, दीपक घिमिरे, सुनिता अर्याल, प्रदीप शाक्य, विष्णुप्रसाद उपाध्याय, गोपालप्रसाद बस्याल र विजयकुमार वर्णवाल निर्वाचित भएका हुन् । महिलातर्फ रेनु श्रेष्ठ र मञ्जु पुरी गिरी निर्वाचित भएका छन् ।

पदभार ग्रहणपछि अध्यक्ष पौडेलले संघलाई उद्योगी व्यवसायीको हकहित संरक्षण र औद्योगिक विकासका लागि थप क्रियाशील बनाउने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले संघले औद्योगिक तथा व्यावसायिक क्षेत्रका समस्या समाधानमा अर्थपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले बुटवलको औद्योगिक तथा व्यावसायिक विकासको योजना बनाउँदा भविष्यको बुटवल कस्तो बनाउने भन्ने स्पष्ट दृष्टिकोण आवश्यक रहेको बताए ।

बुटवलको खस्किँदो व्यापारिक गतिविधिलाई सुधार गर्दै बजारलाई चलायमान बनाउने योजना ल्याउन आग्रह गर्दै नगरप्रमुख पाण्डेयले व्यवसायमैत्री वातावरण निर्माणमा जोड दिए । यसका लागि उपमहानगरपालिकाले आफ्नो तर्फबाट आवश्यक पहल गरिरहेको पनि उनले बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष कृष्णप्रसाद शर्माले मुलुकको औद्योगिक तथा व्यावसायिक वातावरण बिग्रँदै गएको उल्लेख गर्दै सुधारका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । बिग्रँदो अर्थतन्त्रलाई सुधार गर्न पनि दुवै पक्ष मिलेर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य तथा संघका निवर्तमान अध्यक्ष हरिप्रसाद अर्यालले आफ्नो कार्यकालमा उद्योगी व्यवसायीको हकहित र उद्यमशीलता विकासका लागि सबै पक्षसँग सहकार्य गर्दै इमान्दार प्रयास गरिएको बताए । आगामी दिनमा पनि संस्थागत, औद्योगिक तथा व्यावसायिक विकासका लागि सहकार्य जारी राख्ने उनले प्रतिबद्धता जनाए ।

सो अवसरमा निवर्तमान अध्यक्ष अर्यालले संघका पूर्वअध्यक्ष, आफ्नो कार्यकालका पदाधिकारी तथा सदस्य र कर्मचारीलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरेका थिए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रा अर्याल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ, महासंघका कार्यकारिणी सदस्य केशवराज भण्डारी, संघका पूर्वअध्यक्ष कुशप्रसाद मल्ल, तिलोत्तमा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कार्की, रुपन्देही उद्योग संघका अध्यक्ष प्रकाश ढकाल, नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे, अध्यक्ष पदका प्रत्यासी टंकप्रसाद गैरे तथा नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष सुरज भट्टराईलगायतले नयाँ कार्यसमितिलाई शुभकामना व्यक्त गरेका थिए ।

You may also like

This will close in 0 seconds