काठमाडौं।आन्द्रे रसेलले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा उत्कृष्ट प्रदर्शन गरेपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार राति भएको पाँच ओभरको खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सलाई ३५ रनले पराजित गरेको छ।
वर्षाका कारण पाँच ओभरमा छोट्याइएको खेलमा विराटनगरले दिएको १०६ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले निर्धारित पाँच ओभरमा दुई विकेट गुमाएर ७० रन मात्र बनाउन सक्यो।
तीन खेल खेलेपछि विराटनगरले पहिलो जित हात पारेको हो। जितसँगै विराटनगरले दुई अंक जोड्दै अंकको खाता खोलेको छ। विराटनगरको जितमा रसेलले अविजित २९ रन बनाउनुका साथै बलिङमा एक विकेट लिए। उनले फिल्डिङमा एक क्याचसमेत लिए।
सुदूरपश्चिमका लागि स्कट कुगेलेइनले अविजित २८ रन बनाए। आरिफ शेख पनि १७ रनमा अविजित रहे। ओपनर सैफ जैबले १० बलमा दुई छक्कासहित १७ रन जोडे।
विराटनगरका लागि रसेलले दुई ओभरमा आठ रन खर्चेर एक विकेट लिए। एन्जेलो म्याथ्युजले एक ओभरमा १५ रन दिएर एक विकेट हात पारे।
१०६ रनको लक्ष्य पछ्याउने क्रममा सुदूरपश्चिमले पहिलो बलमै शेरफान रदरफोर्डको विकेट गुमायो। रसेलले उनलाई आउट गरेका थिए। दोस्रो ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि सुदूरपश्चिम सात रनमै दुई विकेट गुमाएर दबाबमा परेको थियो। त्यसपछि सैफ जैबले एक छेउबाट रन जोड्ने प्रयास गरे पनि टोलीलाई जिताउन सकेनन्।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले पाँच ओभरमा दुई विकेट गुमाएर १०५ रन बनाएको थियो।
विराटनगरका लागि ओपनर शेहान जयसूर्याले सर्वाधिक ३९ रन बनाए। उनले ११ बलमा दुई चौका र पाँच छक्का प्रहार गरे। अर्का ओपनर लोकेश बमले १० बलमा एक चौका र तीन छक्काको मद्दतमा २५ रन जोडे।
वान डाउनमा आएका रसेलले पनि आक्रामक ब्याटिङ गरे। उनले १० बलमा दुई चौका र तीन छक्कासहित अविजित २९ रन बनाए। सुदूरपश्चिमका लागि अभिनाश बोहराले दुई ओभरमा २८ रन खर्चेर एक विकेट लिए। पाँच ओभरको खेलमा विराटनगरले लोकेश बम र शेहान जयसूर्यालाई ओपनिङमा उतारेको थियो। सुदूरपश्चिमले भने यसै खेलबाट एनपीएलमा डेब्यु गरेका श्रीलंकाली स्पिनर थरिन्दु रत्नायाकेलाई पहिलो ओभर बलिङको जिम्मेवारी दिएको थियो।
पहिलो ओभरमै जयसूर्याले रत्नायाकेको बलमा पाँच छक्का प्रहार गरेपछि विराटनगरले ३५ रन जोड्यो। जयसूर्या र लोकेशले दुवै छेउबाट आक्रामक ब्याटिङ गर्दै विराटनगरलाई आठ बलमै अर्धशतकको आँकडा पार गराएका थिए।
जयसूर्याले तेस्रो ओभरमा आउट हुनुअघि ११ बलमा दुई चौका र पाँच छक्कासहित ३९ रन बनाएका थिए। अभिनाश बोहराको बलमा उनलाई अम्पायरले सुरुमा आउट दिएका थिएनन्। तर, सुदूरपश्चिमले रिभ्यु लिएपछि निर्णय विराटनगरविरुद्ध गएको थियो।
जयसूर्या आउट भएपछि क्रिजमा आएका रसेलले लोकेशसँग मिलेर आक्रामक ब्याटिङलाई निरन्तरता दिए। त्यसकै मद्दतमा विराटनगरले पाँच ओभरमा १०५ रनको विशाल योगफल तयार पारेको थियो।
विराटनगर र सुदूरपश्चिमबीचको खेल शनिबार साँझ ५ बजेका लागि तय भएको थियो। तर, वर्षाका कारण मैदानमा पानी जमेकाले खेल सुरु हुन सकेन। पानी सुकाउन समय लागेपछि साँझ ७ः२५ बजे टस र ७ः४१ बजे खेल सुरु गर्ने तालिका बनाइएको थियो। तर, निर्धारित समयमा टस हुन सकेन। विराटनगरका कप्तान सन्दीप लामिछाने टसका लागि मैदानमा पुगे पनि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरी उपस्थित भएनन्।
त्यसपछि नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा एनपीएल गभर्निङ काउन्सिलका संयोजक पारस खड्कासहित म्याच रेफ्रीसँग छलफल भएको थियो। लामो समयसम्म टस र खेल सुरु हुने विषयमा अन्योल कायम रह्यो।
एक घण्टाभन्दा बढीको प्रतीक्षापछि राति ८ः५४ बजे सुदूरपश्चिमका खेलाडी मैदानमा खेल्न तयार भएका थिए। त्यसपछि राति ९ बजे टस गर्ने र ९ः१५ बजे खेल सुरु गर्ने समय तय गरिएको थियो। टसमा ढिलाइ हुनुको आधिकारिक कारण सार्वजनिक नभए पनि मैदानको आउटफिल्ड गिलो भएको र विदेशी खेलाडी खेल्न तयार नभएको कारण सुदूरपश्चिमको टोली टसका लागि जान नमानेको मैदानमा देखिएको थियो।
अन्ततः खेल सुरु भएपछि सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरे। त्यसपछि विराटनगरले ब्याटिङ गर्दै पाँच ओभरमा १०५ रन बनाएको थियो।

