मनाङमा १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन मौसम महाशाखाको आग्रह

by समतल अनलाइन
27Shares

काठमाडौँ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले पछिल्लो २४ घण्टामा मनाङमा भारी वर्षा भएको जनाएको छ।
महाशाखाका अनुसार बङ्गालको खाडीमा विकसित अर्नब चक्रवात र पश्चिमी वायुको प्रभावका कारण मनाङस्थित ताल मौसम मापन केन्द्रमा १०४.४ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ।
लगातारको वर्षासँगै चिसो बढ्न सक्ने तथा जोखिमयुक्त क्षेत्र र सडक किनारमा पहिरो खस्ने सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
वर्षाका कारण सडक तथा हवाई यातायात प्रभावित हुनुका साथै सर्वसाधारणको दैनिक जनजीवनमा समेत असर पर्न सक्ने भन्दै आवश्यक पूर्वतयारी गर्न सर्वसाधारण र सम्बन्धित निकायलाई महाशाखाले अनुरोध गरेको छ।
महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मध्यम वर्षा भएको छ। त्यस्तै, गण्डकी प्रदेशका थोरै स्थान तथा मधेस र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भएको छ।
सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यक सावधानी अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचनामा ध्यान दिन महाशाखाले सबैमा आग्रह गरेको छ।

You may also like