बुटवलका मेयर पाण्डेयको आग्रह : तिहारमा भारतीय फूल र प्लास्टिकका माला होइन, स्वदेशी फूल प्रयोग गरौँ

by समतल अनलाइन
32Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका नगर प्रमुख खेलराज पाण्डेयले तिहारमा भारतीय फूल तथा प्लास्टिकका माला नकिन्न र स्वदेशी फूलको प्रयोग गर्न नगरवासीलाई आग्रह गरेका छन्।

तिहार तथा छठ पर्वका अवसरमा अपिल जारी गर्दै नगर प्रमुख पाण्डेयले स्थानीय उत्पादनलाई प्राथमिकता दिन र प्लास्टिकजन्य फूल तथा मालाको प्रयोग निरुत्साहित गर्न आग्रह गरेका हुन्।

प्लास्टिकका फूल तथा मालाको प्रयोगले वातावरण प्रदूषित बनाउनुका साथै मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्ने भएकाले प्राकृतिक फूलको प्रयोगमा जोड दिनुपर्ने उनको भनाइ छ।

तिहारमा घर सजाउन, पूजाआजा गर्न तथा भाइटीकाका अवसरमा प्रयोग गरिने फूल र मालामा स्वदेशी उत्पादन रोज्न उनले नगरवासीलाई अनुरोध गरेका छन्।

स्थानीय किसानले उत्पादन गरेका फूलको प्रयोग बढाउन सके किसान तथा फूल व्यवसायीलाई प्रत्यक्ष लाभ पुग्ने र स्थानीय अर्थतन्त्रलाई समेत टेवा पुग्ने उपमहानगरपालिकाको अपेक्षा छ।

स्वदेशी फूलको प्रयोगले स्थानीय उत्पादनको प्रवर्द्धन हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने भएकाले यस वर्षको तिहारमा स्थानीय फूल तथा मालालाई प्राथमिकता दिन उपमहानगरपालिकाले सबै नगरवासीलाई आग्रह गरेको छ।

You may also like