वसन्तपुरमा पाँचतारे होटल र क्यासिनो बनाउँदै लुम्बिनी केबलकार

by समतल अनलाइन
56Shares

बुटवल । लुम्बिनी केबलकारले पाल्पाको वसन्तपुरमा पाँचतारे स्तरको होटल र क्यासिनो निर्माण गर्ने योजना अघि बढाएको छ। केबलकारको माथिल्लो स्टेसन रहेको वसन्तपुरमा पर्यटकीय पूर्वाधार विस्तार गर्ने उद्देश्यसहित कम्पनीले होटल तथा क्यासिनो निर्माण प्रक्रिया अघि बढाएको हो।

कम्पनीका अनुसार प्रस्तावित होटलको नक्सापास प्रक्रिया अन्तिम चरणमा पुगेको छ। होटलका लागि आवश्यक खानेपानी आपूर्तिको व्यवस्था पनि आंशिक रूपमा सम्पन्न भइसकेको छ।

मङ्गलबार सम्पन्न कम्पनीको २३औँ वार्षिक साधारण सभामा अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदनमा होटल तथा क्यासिनो निर्माणको योजना समेटिएको छ।

कम्पनीले वसन्तपुरलाई थप आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न मनोरञ्जनात्मक पूर्वाधारसमेत थप्ने तयारी गरेको छ। आगामी आर्थिक वर्षमा रोलर कोस्टर, बाउन्स क्यासल र जिरो ग्राभिटी राइडजस्ता आकर्षण निर्माण गर्ने योजना रहेको प्रतिवेदनमा उल्लेख छ।

पर्यटकको आगमन बढाउन र सेवा विस्तार गर्न कम्पनीले बुटवल तथा भैरहवा क्षेत्रका ७० भन्दा बढी होटल, ४० भन्दा बढी सङ्घसंस्था र ४५ भन्दा बढी शिक्षण संस्थासँग सहकार्य गरेको जनाएको छ।

त्यसैगरी, भाटभटेनी सुपरमार्केट, क्युएफएक्स सिनेमा, लुम्बिनी विकास कोष र शङ्करनगर वन विहारसँग पनि सहकार्य तथा टिकट छुटसम्बन्धी सम्झौता गरिएको कम्पनीले जनाएको छ।

कम्पनीले खर्च नियन्त्रण र मितव्ययितालाई प्राथमिकतामा राखेको उल्लेख गर्दै आगामी केबलकार आयोजनाका लागि आवश्यक दक्ष प्राविधिक जनशक्ति उत्पादनमा समेत योगदान पुर्‍याइरहेको जनाएको छ।

वसन्तपुरमा होटल, क्यासिनो र थप मनोरञ्जनात्मक संरचना निर्माण गर्ने योजना कार्यान्वयनमा आएमा यस क्षेत्रको पर्यटन सेवा विस्तारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

You may also like