रारा मसला उद्योग सञ्चालनमा अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघको आपत्ति

by समतल अनलाइन
25Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११, सांग्रिलापथमा सञ्चालित रारा मसला उद्योगको उत्पादनमा भएको अवरोधप्रति बुटवल उद्योग वाणिज्य संघले गम्भीर आपत्ति जनाएको छ।

उद्योग सञ्चालनका क्रममा देखिएका समस्या समाधानका लागि कानुनी तथा संस्थागत बाटो हुँदाहुँदै उद्योगी–व्यवसायीमाथि दबाब सिर्जना गर्ने र उद्योग सञ्चालनमै अवरोध गर्ने गतिविधि स्वीकार्य नहुने संघले जनाएको हो।

संघले मंगलबार जारी गरेको विज्ञप्तिमा स्थानीय बासिन्दाको विरोध तथा उजुरीपछि उद्योगको उत्पादन रोकिएको र नियमनकारी निकायबाट समेत एकतर्फी दबाब सिर्जना भएको विषयमा ध्यानाकर्षण भएको उल्लेख छ। उद्योगसँग सम्बन्धित समस्या संवाद, सहकार्य र प्रचलित कानुनी प्रक्रियाबाट समाधान गर्नुपर्ने संघको भनाइ छ।

संघका अध्यक्ष हरिप्रसाद अर्यालद्वारा हस्ताक्षरित विज्ञप्तिमा रारा मसला उद्योगले २०४६ सालदेखि स्वदेशमै मसलाजन्य वस्तु उत्पादन गर्दै आएको उल्लेख छ। उद्योगले आयात प्रतिस्थापनसँगै रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्रमा योगदान पुर्‍याउँदै आएको संघले जनाएको छ।

लामो समयदेखि सञ्चालनमा रहेको उद्योगका समस्या समाधानका लागि आवश्यक अवसर र समय दिनुको सट्टा हुलहुज्जत तथा दबाब सिर्जना गर्नु निजी क्षेत्रको लगानी र उद्यमशीलताका लागि समेत चिन्ताको विषय भएको संघको भनाइ छ।

संघले अदालतबाट समेत अर्को आदेश नभएसम्म उद्योग सञ्चालन गर्न अनुमति प्राप्त भइसकेको अवस्थामा कानुन हातमा लिने वा उद्योगी–व्यवसायीको मनोबल कमजोर पार्ने गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ।

बुटवल उपमहानगरपालिकाको स्थलगत अनुगमनका क्रममा उद्योगमा धुलो प्रदूषण र कम्पनसम्बन्धी समस्या देखिएको विषयमा सुधारका प्रयास तथा प्रक्रिया अघि बढिरहेको संघले जनाएको छ। यस्ता समस्या समाधान भइरहेका बेला उद्योगमाथि हुलहुज्जत गर्ने वा उत्पादन नै रोक्ने अवस्था सिर्जना गर्नुको सट्टा सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नुपर्ने संघको धारणा छ।

संघले उद्योगसँग सम्बन्धित समस्याको तथ्यपरक अध्ययन गरी अनुगमन, संवाद र समन्वयमार्फत दीर्घकालीन समाधान खोज्न सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।

निजी क्षेत्रको लगानी, उद्यमशीलता र रोजगारी संरक्षणका लागि उद्योगलाई आवश्यक सुधार गर्ने उपयुक्त समय र वातावरण उपलब्ध गराउन तथा नियमनकारी निकायलाई सहयोगी र समन्वयकारी भूमिका निर्वाह गर्न पनि संघले अनुरोध गरेको छ।

You may also like