काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको दुई दिन पछि सरेपछि केन्द्रीय निर्वाचन समितिले नयाँ तालिका प्रकाशित गरेको छ ।
जस अनुसार उद्घाटन समारोह असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा हुने भएको छ भने महाधिवेशन प्रतिनिधिको नामावली असोज १५ गतेभित्र पठाउन र प्रतिनिधि दर्ता असोज १६ र १७ गते गर्न केन्द्रीय निर्वाचन समितिले अनुरोध गरेको छ ।
त्यस्तै, वडा र गाउँ/नगर अधिवेशन सम्पन्न भइसकेको जानकारी दिदै समितिले प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन जारी रहेको बताएको छ । देशका विभिन्न स्थानमा भारी वर्षाका कारण केही निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन तथा महाधिवेशन प्रतिनिधि चयन प्रक्रिया पूरा हुन बाँकी रहेको समितिले जनाएको छ ।
त्यस्तै, महाधिवेशनको बन्दसत्र तथा अन्य कार्यक्रम असोज १९ र २० गते हुनेछन् भने निर्वाचन असोज २१ र २२ गते सञ्चालन हुनेछ । निर्वाचन कार्यक्रमसम्बन्धी अन्य विवरण र विस्तृत कार्यतालिका पछि प्रकाशित गरिने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन् ।

