बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले महाधिवेशन प्रतिनिधिमा दिए उम्मेदवारी

by समतल अनलाइन
23Shares

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख तथा नेपाली कांग्रेसका नेता खेलराज पाण्डेयले पार्टीको १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिएका छन्।

बुटवलको स्थानीय राजनीतिमा लामो समयदेखि सक्रिय पाण्डेयले नगरप्रमुखको जिम्मेवारी सम्हालिरहेका बेला कांग्रेसको महाधिवेशन प्रतिनिधिका रूपमा पनि आफूलाई अघि सारेका हुन्। उनको उम्मेदवारीसँगै रुपन्देहीमा कांग्रेसको महाधिवेशन प्रक्रिया थप चासोको विषय बनेको छ।

पाण्डेय १४औँ महाधिवेशनका क्रममा नेपाली कांग्रेस बुटवल उपमहानगर कार्यसमितिको सभापतिमा निर्वाचित भएका थिए। २०७८ मा सम्पन्न नगर अधिवेशनमा उनले ४१२ मत प्राप्त गर्दै सभापतिको जिम्मेवारी पाएका थिए।

त्यसअघि पनि बुटवल कांग्रेसको नगर संगठनमा सक्रिय रहेका पाण्डेय २०७९ को स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका तर्फबाट बुटवल उपमहानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बनेका थिए। उक्त निर्वाचनमा उनी नगरप्रमुखमा निर्वाचित भएका थिए।

पार्टी संगठनमा लामो समयदेखि सक्रिय पाण्डेयले नगर नेतृत्वसँगै स्थानीय तहको जनप्रतिनिधिका रूपमा समेत काम गर्दै आएका छन्। महाधिवेशन प्रतिनिधिका रूपमा उनको उम्मेदवारीले अबको पार्टी संगठन र नेतृत्व निर्माणमा उनको भूमिकालाई समेत चर्चामा ल्याएको छ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशन सम्पन्न भइसकेको छ भने क्षेत्रीय तथा अन्य तहका अधिवेशनको प्रक्रिया अघि बढिरहेको छ। घोषित कार्यतालिकाअनुसार असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र असोज १८ देखि २० गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने कार्यक्रम रहेको छ।

१५औँ महाधिवेशनबाट कांग्रेसको नयाँ केन्द्रीय नेतृत्व तथा कार्यसमिति चयन हुँदैछ। संशोधित विधानअनुसार कांग्रेसको केन्द्रीय कार्यसमिति २३२ सदस्यीय हुने र त्यसमध्ये १७१ सदस्य महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था गरिएको छ।

You may also like