भारी वर्षाको जोखिम : सरकार उच्च सतर्कतामा, सबै संयन्त्र परिचालन

by समतल अनलाइन
34Shares

काठमाडौँ । देशभर भइरहेको भारी वर्षाका कारण उत्पन्न हुन सक्ने बाढी, पहिरो तथा अन्य विपद्जन्य जोखिम न्यूनीकरणका लागि सरकारले पूर्वतयारी तथा प्रतिकार्यका कामलाई तीव्र बनाएको जनाएको छ।

प्रधानमन्त्री बालेन्द्र शाहले अमेरिका प्रस्थान गर्नुअघि सम्भावित विपद्को जोखिमलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाउन निर्देशन दिएपछि सम्बन्धित मन्त्रालय तथा सरकारी निकायलाई तयारी अवस्थामा राखिएको हो।

कार्यवाहक प्रधानमन्त्री एवं अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सम्बन्धित मन्त्रीहरूसँग विपद् पूर्वतयारीबारे छलफल गर्दै सम्भावित मानवीय तथा भौतिक क्षति कम गर्न सबै मन्त्रालय र मातहतका निकायलाई उच्च सतर्कतामा राखिएको बताएका छन्।

गृह मन्त्रालयले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सुरक्षा संयन्त्र तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। नदी तथा खोलाका तटीय क्षेत्रमा माइकिङ गरी स्थानीयलाई सचेत गराउने, जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अस्पताल र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने व्यवस्था गरिएको छ।

सरकारले सम्भावित जोखिमलाई मध्यनजर गर्दै विद्यालय, स्वास्थ्य सेवा, पर्यटन, खाद्यान्न तथा इन्धन आपूर्ति र सडक सुरक्षालाई समेत प्राथमिकतामा राखेको छ। असोज ९ देखि ११ गतेसम्मका परीक्षा आवश्यकताअनुसार स्थगित गर्न सकिने व्यवस्था गरिएको छ भने सुरक्षित विद्यालय भवनलाई आवश्यक परे अस्थायी आश्रयस्थलका रूपमा प्रयोग गर्ने तयारी गरिएको छ।

अस्पतालहरूमा आवश्यक जनशक्ति, औषधि तथा औषधिजन्य सामग्री र एम्बुलेन्सलाई २४ घण्टा तयारी अवस्थामा राख्न निर्देशन दिइएको छ। त्यस्तै, खाद्यान्न तथा इन्धनको नियमित आपूर्ति सुनिश्चित गर्न सम्बन्धित निकायलाई सक्रिय बनाइएको छ।
बाढी तथा पहिरोको जोखिम रहेका सडकखण्डमा सडक विभागका भारी उपकरण तयारी अवस्थामा राखिएका छन्। जोखिमयुक्त सडकमा आवश्यकताअनुसार रातिको समयमा सवारी सञ्चालनमा रोक लगाइएको पनि सरकारले जनाएको छ।
सम्भावित बाढीको जोखिमलाई समयमै पहिचान गर्न प्रमुख नदीहरूमा पाँच दिन र साना नदीहरूमा ४८ घण्टा अगावै पूर्वसूचना दिने व्यवस्था गरिएको छ। विद्युत् सेवा अवरुद्ध भए तत्काल पुनः सञ्चालन गर्न सम्बन्धित कर्मचारीलाई तयारी अवस्थामा राखिएको छ।
किसानलाई मौसमअनुसार कृषि कार्यमा आवश्यक सावधानी अपनाउन विशेष कृषि मौसम सल्लाह जारी गर्ने व्यवस्था गरिएको छ। साथै, असोज ११ गतेसम्म स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न निर्देशन दिइएको छ।

सरकारले सम्भावित विपद्को अवस्थामा नागरिकलाई आवश्यक सूचना तथा सहायता सहज रूपमा उपलब्ध गराउन आपत्कालीन सम्पर्क नम्बरसमेत सार्वजनिक गरेको छ। मौसम तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, जिल्ला आपत्कालीन केन्द्रका लागि १२३४, हेलो सरकार ११११, नेपाल प्रहरी १०० र सशस्त्र प्रहरी १११४ मा सम्पर्क गर्न सकिने जनाइएको छ।

You may also like