१८ वर्षीय सुजल भण्डारी कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित

by समतल अनलाइन
34Shares

बुटवल। रुपन्देहीको सैनामैना नगरपालिका–६ का १८ वर्षीय सुजल भण्डारी नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएका छन्। हालै सम्पन्न नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट भण्डारी क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका हुन्।

कम उमेरमै पार्टीको महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा सहभागी हुँदै क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा पुगेका भण्डारीले राजनीतिमा युवाको सहभागिताको उदाहरण प्रस्तुत गरेका छन्। उनी सैनामैना–६ बाट कांग्रेसको संगठनात्मक गतिविधिमा सक्रिय रहँदै आएका थिए।

भण्डारीको निर्वाचित भएसँगै स्थानीय कांग्रेस संगठनमा युवा पुस्ताको उपस्थितिलाई लिएर चर्चा सुरु भएको छ। राजनीतिमा युवाको सहभागिता बढाउनुपर्ने आवाज उठिरहेका बेला १८ वर्षकै उमेरमा पार्टीको महत्वपूर्ण तहमा प्रतिनिधित्व गर्ने अवसर पाउनु नयाँ पुस्ताका लागि चासोको विषय बनेको छ।

भण्डारीले आफूले पाएको जिम्मेवारीलाई अवसरसँगै चुनौतीका रूपमा लिएको बताएका छन्। पार्टी संगठनलाई बलियो बनाउँदै युवाका मुद्दा र स्थानीयस्तरका सवाललाई राजनीतिक बहसमा प्रभावकारी रूपमा उठाउने आफ्नो प्राथमिकता रहेको उनको भनाइ छ।

सैनामैनाबाट कम उमेरमै क्षेत्रीय प्रतिनिधिका रूपमा निर्वाचित भएका भण्डारीको राजनीतिक यात्रा आगामी दिनमा कसरी अघि बढ्छ भन्ने विषयलाई स्थानीय राजनीतिक वृत्तमा चासोका साथ हेरिएको छ।

You may also like