भिम रावलको आह्वानः कम्युनिष्ट नेतृत्वले ससम्मान विदा भएर पुस्तान्तरण गर्नुपर्छ

by समतल अनलाइन
19Shares

बुटवल । नेपाली कम्यूनिष्ट पार्टीका नेता तथा पूर्वउपप्रधानमन्त्री डा.भिम रावलले नेतृत्वको पदमोह र कम्यूनिष्ट आचरण नभएकाले कम्यूनिष्टहरु कमजोर अवस्थामा आइपुगेको बताएका छन् । उनले गत वर्षको जेनजी आन्दोलनपछि नेपालका कम्यूनिष्ट पार्टीहरु निकै कमजोर अवस्थामा पुगेकाले अब नेतृत्वमा रहेकाहरुले ससम्मान विदाई भएर नेतृत्व हस्तान्तरण गर्नुपर्ने बताए ।

पुष्पलाल मित्रता केन्द्रको आयोजनामा शनिबार बुटवलमा गरिएको वर्तमान राजनैतिक परिस्थितीमा बामपन्थी दलहरुको भूमिका बिषयक विचार गोष्ठिलाई सम्बोधन गर्दै मुलुक गम्भिर संकटमा गुज्रिएकाले अब शिर्ष भनिएका नेताहरुले विगतको गल्ती सच्चाउँदै कम्यूनिष्ट आन्दोलन जोगाउनुपर्ने बताए ‘मानिस कति चोटी प्रधानमन्त्री भएपछि, कतिपटक अध्यक्ष र कति पैसा भएपछि सन्तुष्ट हुन्छ’ उनले भने –‘वैचारिक र संगठनात्मक रुपमा नेताहरु तपाईहरुको योगदान, त्याग देखियो, अब ससम्मान विदाई हुनुस् भनेर भन्नुपर्छ ।’

उनले आफू वामपन्थी शक्ति बलियो बनाउनका लागि बुटवलबाट साथीहरुले प्रस्ताव गरे यहि हस्ताक्षर गर्न तयार रहेको बताए । उनले देश र जनता धारासायी भएर अस्तित्व नै संकटमा पर्दा पनि म र मेरो पद भनेर अर्कालाई चुप लगाउने काम भइरहेको बताए । उनले विगतमा बनेको नेकपा र त्यसपछि बनेको सरकारपछि नेतृत्वले गरेको अर्कमण्यका कारण कम्यूनिष्ट पार्टीहरुप्रति जनताको समर्थन घटेको बताए । उनले सुकुम्बासी, मजदुर र किसानका आवाज मुखरित गर्नुपर्नेमा जोड दिए । ‘आज जनताले आफ्ना वास्तविक मुद्दा, आवाज र अवस्था सुधार्ने राजनीतिक शक्ति खोजेको छ’, रावलले भने, ‘अहिलेको सरकारले गरेका जनविरोधी र राष्ट्रघाती कामको भण्डाफोर गर्नुपर्ने बेला आएको छ । राष्ट्रिय अखण्डता र भौगोलिक रक्षाका लागि वामपन्थी शक्तिहरू उठ्नुपर्ने बेला आएको छ ।’

पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका रावलले अहिले नेपालको राष्ट्रियता, स्वाधिनता खतरामा रहेको बताए । प्रधानमन्त्रीले सार्वभौम संसदमा उभिएर नेपालले भारतको सिमा मिचेको छ भनेर अभिव्यक्ति दिनु, मुस्ताङको यूरोनियम अमेरिका र अष्ट्रेलियामा डाटा सेन्टरका स्थापनाको नाममा बुझाउने जस्ता सम्झौता हुनुले गम्भिर खतरा उत्पन्न गराएको बताए । उनले अब वामपन्थी, देशभक्ति शक्तिहरु एकजुट हुनैपर्ने बेला आएको बताए । आत्मसमिक्षा गर्दै अब मुलुक र जनताको दीर्घकालिन हितका लागि कम्यूनिष्टहरुविच वैचारिक एकता र सहकार्यको खाँचो रहेको बताए ।

विमर्शमा नेपाली कम्यूनिष्ट पार्टीका अर्का नेता चक्रपाणी खनाल ‘बलदेव’ ले वर्तमान सरकारका विरुद्ध कम्यूनिष्ट पार्टीहरुविच एकतासँगै संघर्षमा उत्रनुपर्ने बेला आएको बताए । उनले स्व। मदनभण्डारी र प्रचण्ड स्कूलिङबाट आएकाहरुविच पुन एकता र सहकार्य गर्दै आवश्यक परे दिनभरिमा शासन उल्ट्याउने गरी आन्दोलनको तयारीमा जुट्नपर्ने हुनसक्ने बताए । उनले प्रधानमन्त्री बालेन्द्र शाह देश जलाएर सत्तामा पुगेको बताउँदै अब कम्यूनिष्ट पार्टीहरुले आवश्यक परे बल प्रयोग गर्ने गरी एकता गर्नुपर्ने बताए ।

नेता खनालले लडाईँबाटै शासन सत्ता हातमा लिने हो भने गत बर्ष भदौ २३ र २४ गते जस्तै अब विहान सुरु भएर बेलका शासन कब्जा गर्ने आन्दोलन गर्न पनि पछि पर्न नहुने बताए । यस्तै कार्यक्रममा नेकपा एमालेका पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले कम्यूनिष्ट पार्टीमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण आवश्यक रहेको बताए । उनले २०८२ फागुनमा भएको निर्वाचनले युवा पुस्ता मात्रै नभई सिंगो समाजले विश्वास नगरेको बताउँदै अब समिक्षा गर्ने बेला आइसकेको बताए ।

‘अल्गोरिदम, दाउपेच र षडयन्त्रले हारेको भनियो भने त्यो बेठिक हुन्छ’ नेता भट्टराईले भने नेतृत्व हस्तान्तरण गरेर सहज बाटोमा जानुपर्छ ।’ उनले एमालेमा पार्टी सदस्यहरुमा रहेको ब्रेकरलाई नहटाउने हो भने पनि युवाहरु आउन नसक्ने बताए । उनले युवाहरुलाई सदस्य बनाएर तुरुन्तै नेतृत्वमा समेत स्थापित गर्ने नीति लिनुपर्ने बताए । उनले अब कम्यूनिष्टहरुले आफूहरुलाई आत्मसमिक्षा सहित नेतृत्व परिवर्तन गर्दै एकताबद्ध बनाउने अभियान सुरुवात गर्नुपर्ने बताए ।

गोष्ठिमा पुष्पलाल मित्रता केन्द्रका अध्यक्ष जगन्नाथ खतिवडाले २०६४ सालदेखि क्रमश वामपन्थी दलहरुको जनमत खस्कदै गएको बताउँदै जेनजी आन्दोलन र गत वर्षको निर्वाचनले थला पारिदिएको बताए । उनले कम्यूनिष्टका नाममा अलग अलग ठाउँमा रहदा त्यसले जनतामा उत्साह नभएकाले आफूहरुले वामपन्थी दलहरुको भूमिकाको खोजीका लागि देशैभर बहसको प्रारम्भ गरेको बताए । नेकपा एमाले, नेकपा, जनमोर्चा वा अन्य कम्यूनिष्ट घटकहरु अलग हुँदा त्यसले देशको राष्ट्रियता, सार्वभौमिकता कमजोर बनाएकाले अब के गर्ने भन्ने बिषयमा नेताहरुको जवाफको खोजीका लागि सातै प्रदेशमा कार्यक्रम गरिएको अध्यक्ष खतिवडाले बताए ।

विचार गोष्ठिमा प्रगतिशिल लोकतान्त्रिक पार्टीका नेता वामदेव क्षेत्री, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सल्लाहकार बद्रे आलम, नेकपा लुम्बिनी संयोजक अब्दुल हुसेन, वाम बुद्धिजिवि घनश्याम पाठक, नेकपा रुपन्देही इन्चार्ज निर्मल जिसि, नेकपा नेता लक्ष्मी भुसाल, अनिल किशोर घिमिरेले बोल्दै कम्यूनिष्ट एकता आजको आवश्यकता रहेको बताए । यसअघि पुष्पलाल मित्रता केन्द्रले साउन ७ गते पुष्पलाल स्मृति दिवसको सन्दर्भ पारेर बाग्मती प्रदेशबाट यो अभियानको सुरुवात गरेको थियोे । बाग्मतीमा नेकपाका संयोजक प्रचण्डले सम्बोधन गरेका थिए ।

यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा देव गुरूङ, सुदुरपश्चिमको धनगढीमा भएको कार्यक्रmमा नारायणकाजी श्रेष्ठ, मधेश प्रदेशको जनकपुरमा भएको कार्यक्रममा नेकपा सहसंयोजक माधव कुमार नेपाल, कोशी प्रदेशको इटहरीमा भएको कार्यक्रममा राजेन्द्र प्रसाद पाण्डे र गण्डकीको पोखरामा भएको कार्यक्रमलाई एमाले नेता सुरेन्द्र पाण्डेले सम्बोधन गरेका थिए ।

You may also like