बुटवल हस्पिटलद्वारा भोटेकोशी प्रभावितका लागि ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ सहयोग

by समतल अनलाइन
46Shares

बुटवल । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले बुटवल हस्पिटल प्रा.लि.ले ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ आर्थिक सहयोग गरेको छ।

अस्पताल परिवारले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेको हो। अस्पतालका अध्यक्ष चुन्न प्रसाद शर्मा पौडेलले नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ७ लाख ७७ हजार ७ सय ७७ रुपैयाँ बराबरको चेक हस्तान्तरण गर्नुभएको हो। चेक हस्तान्तरण कार्यक्रममा अस्पतालका सञ्चालक तथा जनप्रतिनिधि नरिश्वर शर्मा लगायतको उपस्थिति रहेको थियो।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएको अवस्थामा प्रभावित नागरिकको राहत तथा पुनर्स्थापना अभियानमा संस्थागत रूपमा सहयोग गर्न अस्पतालले आर्थिक सहयोग गरेको जनाएको छ। अस्पतालका अध्यक्ष पौडेलले विपद्को कठिन समयमा प्रभावित नागरिकसँग ऐक्यबद्धता जनाउँदै उद्धार, राहत र पुनर्स्थापनाका लागि सहयोग पुगोस् भन्ने उद्देश्यले कोषमा रकम प्रदान गरिएको बताउनुभयो।

बुटवल हस्पिटलले यसअघि पनि प्रभावित क्षेत्रमा पुग्ने अभियन्ता तथा सहयोगी समूहहरूमार्फत औषधिजन्य सामग्री पठाएर विपद् प्रभावितलाई सहयोग गरिसकेको जनाएको छ। विपन्न तथा असहाय नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवीय सहयोगलाई निरन्तरता दिँदै आएको बताएको छ।

बुटवलको ज्योतिपथमा अवस्थित सय शय्या क्षमताको बुटवल हस्पिटल विगत २५ वर्षदेखि बुटवलमा स्वास्थ्य सेवा प्रदान गर्दै आएको संस्था हो। अनुभवी स्वास्थ्यकर्मी, आधुनिक चिकित्सा प्रविधि र आवश्यक पूर्वाधारसहित अस्पतालले विभिन्न विशेषज्ञताका स्वास्थ्य सेवा एउटै छानामुनिबाट उपलब्ध गराउँदै आएको जनाएको छ।

लुम्बिनी प्रदेशको प्रमुख बहुविशेषज्ञ स्वास्थ्य संस्थामध्ये एकका रूपमा रहेको बुटवल हस्पिटलले बिरामीकेन्द्रित तथा सेवामुखी स्वास्थ्य उपचारलाई प्राथमिकता दिँदै आएको बताएको छ। अस्पतालले विपद्को यस घडीमा प्रभावित क्षेत्रमा आवश्यक पर्ने स्वास्थ्यसम्बन्धी थप सहयोगका लागि समेत आफूहरू तयार रहेको जनाएको छ।

You may also like