भोटेकोशी बाढीपछि प्रहरीको ‘टिटुटी’ अपरेशन, टिमुरेदेखि त्रिवेणीसम्म खोजी तीव्र

by समतल अनलाइन
23Shares

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता भएका व्यक्तिको खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले ‘टिटुटी’ (टिमुरे टू त्रिवेणी) अपरेशन सञ्चालनमा ल्याएको छ।

प्रहरीको विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रले बाढी प्रभावित जिल्लामा व्यापक र व्यवस्थित खोजी अभियान सञ्चालन गर्न सम्बन्धित प्रहरी कार्यालयलाई निर्देशन दिएको हो।

‘टिटुटी’ अपरेशनअन्तर्गत बेपत्ताको खोजी तथा उद्धारसँगै कुकुर र ड्रोनको प्रयोग, होल्डिङ सेन्टर व्यवस्थापन, समुदाय–प्रहरी साझेदारी, अपराध नियन्त्रण तथा अनुसन्धान, राहत तथा पुनःस्थापना, डीएनए प्रोफाइलिङ र ट्राफिक व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ।

भोटेकोशी र त्रिशूली नदीका तटीय क्षेत्रमा बाढीले बगाएका वा बेपत्ता भएका व्यक्ति जीवितै रहेको सम्भावनालाई समेत ध्यानमा राखेर नदी किनार, भग्नावशेष तथा सम्भावित स्थानमा खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

मृतकको शव वा शरीरका अंग फेला परेमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी व्यवस्थापन गर्ने व्यवस्था गरिएको छ। त्यस्तै, प्रभावित क्षेत्रमा भेटिएका नगद, सुनचाँदी, बैंक कार्ड तथा महत्वपूर्ण सरकारी वा व्यक्तिगत कागजात सम्बन्धित धनीलाई फिर्ता गर्ने व्यवस्था पनि अपरेशनमा समेटिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबिनारायण काफ्लेले कठिन भौगोलिक अवस्थाका कारण खोजी तथा उद्धारमा ड्रोन र केनाइनको प्रयोगलाई विशेष प्राथमिकता दिइएको बताए। उनका अनुसार नदी किनारा र भग्नावशेषमा प्रहरी टोली परिचालन गरी बेपत्ताको खोजीलाई तीव्र पारिएको छ।

‘टिटुटी’ अपरेशनअन्तर्गत रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा प्रहरी परिचालन गरिएको छ।

प्रहरी टोलीले खोजी तथा उद्धारसँगै शव संकलन, घटनास्थल व्यवस्थापन, पोस्टमार्टम, फोटो मोनिटरमार्फत शव पहिचानमा सहजीकरण तथा डीएनए परीक्षणका लागि नमुना संकलन गरिरहेको छ।

भौगोलिक विकटताका कारण उद्धारकर्ता तथा केनाइन टोली पुग्न नसक्ने स्थानमा ड्रोनमार्फत खोजी भइरहेको प्रहरीले जनाएको छ। सडक अवरुद्ध भएका स्थानमा मार्ग खुलाउने तथा सडक सञ्जाल नभएका क्षेत्रमा तुइनमार्फत सर्वसाधारणको सुरक्षित आवतजावतमा समेत प्रहरीले सहजीकरण गरिरहेको छ।

प्रभावित नागरिकलाई शव पहिचानमा सहयोग, एम्बुलेन्स व्यवस्थापन, स्वास्थ्य उपचार, राहत वितरण, आपत्कालीन रक्तदान, यातायात व्यवस्थापन तथा भीड नियन्त्रणमा पनि सामुदायिक प्रहरी परिचालन गरिएको छ।

समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत स्थानीय युवा, जनप्रतिनिधि, महिला तथा अन्य सरोकारवालासँग समन्वय गरी टिमुरेदेखि त्रिवेणीसम्मको खोजी तथा उद्धार अभियानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने प्रहरीको योजना छ।

You may also like