बाघको आक्रमणबाट पर्सामा ७० वर्षीय वृद्धको मृत्यु

by समतल अनलाइन
26Shares

पर्सा । पर्साको जिराभवानी गाउँपालिका–२ महादेवपटीनजिकको जंगलमा बाघको आक्रमणबाट ७० वर्षीय वृद्धको मृत्यु भएको छ। मृत्यु हुनेमा जिराभवानी गाउँपालिका–२ काठमाडौं टोलका नथुनी मिर्दाहा थारु रहेका छन्। उनी गाउँनजिकैको राष्ट्रिय वनमा घाँस काट्न गएका बेला बाघले आक्रमण गरी मारेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारीले थारुको बाघको आक्रमणबाट मृत्यु भएको पुष्टि गरेका छन्। प्रहरीका अनुसार थारु गत बुधबार बिहान करिब १० बजे घाँस काट्न भन्दै घरबाट जंगलतर्फ गएका थिए। तर, साँझ अबेरसम्म पनि घर नफर्किएपछि परिवारजन र आफन्तले उनको खोजी सुरु गरेका थिए।

खोजीका क्रममा शुक्रबार बिहान सब डिभिजन वन कार्यालय बसन्तपुरबाट करिब ५०० मिटरभित्र जंगलमा बाघले आक्रमण गरी मारेको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। मृतक थारुको शव पोस्टमार्टमका लागि वीरगन्जस्थित नारायणी अस्पताल पठाउने तयारी भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिए। घटनापछि वन क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ।

You may also like