बुटवलको हिलपार्कमा बन्यो सप्तऋषि धाम, भदौ २७ देखि प्राण प्रतिष्ठा

by समतल अनलाइन
48Shares

बुटवल । काश्यप गोत्र पाण्डे समाजले बुटवल–७ हिलपार्कमा २ करोड रुपैयाँभन्दा बढी लगानीमा ‘सप्तऋषि धाम नेपाल’ निर्माण गरेको छ। धाममा भदौ २७ देखि २९ गतेसम्म प्राण प्रतिष्ठासहित विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ।

समाजले बिहीबार धाम परिसरमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे जानकारी दिएको हो। पत्रकार सम्मेलनमा धामका अध्यक्ष यदुनाथ पाण्डेले काश्यप गोत्र पाण्डे समाजको पहल र लगानीमा निर्माण गरिएको धामलाई धार्मिक आस्थासँगै वैदिक ज्ञान, संस्कार र संस्कृतिको केन्द्रका रूपमा विकास गर्ने उद्देश्य रहेको बताए।

उनका अनुसार धाम निर्माणमा हालसम्म २ करोड रुपैयाँभन्दा बढी लगानी भइसकेको छ। वैदिक परम्परामा सप्तऋषिको महत्वपूर्ण स्थान रहेकाले ऋषि परम्परा, संस्कार र ज्ञानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले धाम निर्माण गरिएको पाण्डेले बताए।

धाममा अरुन्धतीसहित सप्तऋषिका मूर्ति वैदिक विधिअनुसार प्राण प्रतिष्ठा गरिने भएको छ। भदौ २७ देखि २९ गतेसम्म सञ्चालन हुने कार्यक्रममा विभिन्न सन्त तथा वैदिक विद्वानहरूको सहभागिता रहने आयोजकले जनाएको छ।

कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराज, श्री १००८ स्वामी लोकानन्द जी महाराज र श्री १००८ स्वामी सनतानन्द सरस्वती महाराजलगायतको सहभागिता रहने बताइएको छ। धार्मिक तथा आध्यात्मिक प्रवचनसमेत आयोजना गरिने आयोजकको भनाइ छ।

ऋषि पञ्चमीको अवसरमा धाम परिसरमा भजन तथा तीज गीत प्रतियोगिता आयोजना गरिने भएको छ। धार्मिक कार्यक्रमसँगै नेपाली मौलिक संस्कृति र परम्पराको संरक्षण तथा प्रवद्र्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम राखिएको अध्यक्ष पाण्डेले बताए।

आयोजकका अनुसार धामलाई करिब ८८ हजार ऋषि परम्परासँग जोडिएको धार्मिक तथा सांस्कृतिक अवधारणाअनुसार विकास गर्ने योजना छ। धामलाई कुनै एक समुदायमा सीमित नराखी धार्मिक, सांस्कृतिक तथा सामाजिक एकताको साझा केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको पाण्डेले बताए।

प्राण प्रतिष्ठा कार्यक्रममा संघीय तथा प्रदेश सांसद, बुटवल उपमहानगरपालिकाका जनप्रतिनिधि, रुपन्देहीका विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख, सरकारी कार्यालयका प्रतिनिधि, सामाजिक तथा धार्मिक संघ–संस्थाका प्रतिनिधिलगायतको सहभागिता रहने आयोजकले जनाएको छ।

धाम निर्माणपछि हिलपार्क क्षेत्रलाई धार्मिक तथा सांस्कृतिक पर्यटनसँग जोड्नसमेत सहयोग पुग्ने अपेक्षा आयोजकले गरेको छ।

You may also like