बाढीपछि काठमाडौंमा ग्यास अभाव, उपभोक्तालाई राहत दिन मन्त्री यादवको यस्तो निर्देशन

by समतल अनलाइन
50Shares

काठमाडौं । हालै आएको बाढीका कारण आपूर्ति प्रणाली प्रभावित भएपछि काठमाडौं उपत्यकामा देखिएको एलपी ग्यासको अभाव सहज बनाउन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले सम्बन्धित निकायलाई आवश्यक व्यवस्था मिलाउन निर्देशन दिनुभएको छ।

मन्त्री यादवले काठमाडौं उपत्यकाभित्र मात्रै लागू हुने गरी एउटा कम्पनीको ग्यास सिलिन्डर उपलब्ध नभएमा अर्को कम्पनीको सिलिन्डरसँग समान मूल्यमा साटासाट गरी ग्यास उपलब्ध गराउने व्यवस्था गर्न निर्देशन दिनुभएको हो।

यस व्यवस्थापछि आफूले नियमित रूपमा प्रयोग गर्ने कम्पनीको सिलिन्डर तत्काल उपलब्ध नभए पनि उपभोक्ताले अन्य कम्पनीको सिलिन्डरमार्फत ग्यास प्राप्त गर्न सक्नेछन्। बाढीका कारण उत्पन्न आपूर्ति असहजतालाई तत्काल सम्बोधन गर्दै उपभोक्तालाई सहज रूपमा ग्यास उपलब्ध गराउने उद्देश्यले यस्तो व्यवस्था गर्न लागिएको हो।

मन्त्री यादवले उक्त व्यवस्था काठमाडौं उपत्यकामा प्रभावकारी रूपमा कार्यान्वयन गर्न नेपाल आयल निगम र सम्बन्धित ग्यास उद्योगहरूलाई निर्देशन दिनुभएको छ।

साथै, ग्यासको कृत्रिम अभाव सिर्जना गर्ने, उपभोक्तालाई अनावश्यक दुःख दिने वा तोकिएको व्यवस्थाविपरीत कार्य गर्ने व्यक्ति वा व्यवसायीमाथि प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।

You may also like