भदौ २४ को विध्वंस सुनियोजित योजनाको परिणाम थियो : एमाले

by समतल अनलाइन
37Shares

काठमाडौँ । नेकपा (एमाले)ले गत वर्ष भदौ २४ गते भएको आगजनी, तोडफोड र विध्वंस अघिल्लो दिन नवयुवाको प्रदर्शनमा भएको मानवीय क्षतिबाट उत्पन्न आवेगको परिणाम नभई सुनियोजित योजनाअन्तर्गत भएको दाबी गरेको छ।

भदौ २४ का घटनाको एक वर्ष पूरा भएको अवसरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले जारी गरेको प्रेस वक्तव्यमा भदौ २३ गते भएको शान्तिपूर्ण प्रदर्शनमा विभिन्न आपराधिक समूहले घुसपैठ गरी त्यसलाई हिंसात्मक बनाएको आरोप लगाइएको छ।

एमालेले भदौ २३ गतेको घटनामा १९ जना युवाको मृत्यु भएको उल्लेख गर्दै मृतकप्रति श्रद्धाञ्जली तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

पार्टीका अनुसार प्रदर्शनमा घुसपैठ भएपछि आयोजकहरूले कार्यक्रम स्थगित गरे पनि ‘षड्यन्त्रकारी समूह’ले युवाहरूलाई मानव ढालका रूपमा प्रयोग गर्दै संसद् भवनमा आक्रमण गर्न दुरुत्साहन गरेका थिए। भीड नियन्त्रणका क्रममा प्रहरीको बल प्रयोगबाट १९ युवाको मृत्यु भएको एमालेको दाबी छ।

एमालेले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय, शहीद तथा अग्रजका स्मारकसहित सार्वजनिक तथा निजी सम्पत्तिमा भएको आगजनी र तोडफोडलाई नेपालको इतिहासकै ‘कालो अध्याय’ भनेको छ।

प्रधानमन्त्रीले राजीनामा गरिसकेपछि समेत भदौ २४ का विध्वंसात्मक घटना भएको उल्लेख गर्दै एमालेले उक्त दिनको घटना अघिल्लो दिनको मानवीय क्षतिबाट उत्पन्न आक्रोश मात्र नभएको निष्कर्ष निकालेको छ।

पार्टीले उक्त घटनालाई राष्ट्रियता, लोकतन्त्र र संविधानको ‘प्रगतिशील कोर्स’ उल्ट्याएर मुलुकलाई सर्वसत्तावाद, अराजकता र भूराजनीतिक द्वन्द्वतर्फ धकेल्ने योजनाको मूर्त रूप भएको आरोप लगाएको छ।

एमालेले भदौ २३ गतेको शान्तिपूर्ण प्रदर्शन कसरी हिंसात्मक बन्यो र त्यसका लागि को जिम्मेवार थिए भन्ने विषयमा गहिरो छानबिन हुनुपर्ने माग गरेको छ।

वक्तव्यमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीलाई घटनामा दोषी ठहर गर्दै गिरफ्तार गरी मुद्दा चलाउने प्रयास भएको दाबीसमेत गरिएको छ। त्यस दिनको वास्तविकता र सुरक्षा निकायको भूमिकासम्बन्धी प्रतिवेदन गुपचुप राखिएको आरोप एमालेको छ।

त्यस्तै, भदौ २४ को विध्वंसका आरोपीलाई उन्मुक्ति दिइएको तथा उनीहरूविरुद्ध सुरु भएका अनुसन्धान र अभियोजन रोकिएको भन्दै एमालेले त्यसले ‘राजनीतिको अपराधीकरणलाई संस्थागत’ गरेको आरोप लगाएको छ।

राज्यका मुख्य धरोहर र लोकतन्त्रमाथि आक्रमण हुँदा सुरक्षा निकायले त्यसलाई किन रोक्न सकेनन् भन्ने प्रश्नको जवाफ खोज्नुपर्ने एमालेको भनाइ छ।

एमालेले राजनीतिको अपराधीकरण, दण्डहीनता र राज्य दहनका घटनालाई कुनै पनि अवस्थामा स्वीकार गर्न नहुने जनाएको छ। वक्तव्यमा भनिएको छ, ‘हिंसालाई नाइँ भन्नैपर्छ, अराजकता अन्त्य गर भनेर बोल्नैपर्छ।’

लोकतन्त्रमा समस्याको शान्तिपूर्ण समाधान खोजिनुपर्ने र सरकार परिवर्तनका लागि संवैधानिक बाटोबाहेक अन्य विकल्प स्वीकार्य हुन नसक्ने एमालेको धारणा छ।

एमालेले ‘जेन्जी विद्रोह’का नाममा भएको हिंसा र विध्वंसमा नवयुवाहरूको संलग्नता नरहेको दाबी गर्दै उनीहरूका सरोकार र अपेक्षा असल रहेको जनाएको छ। तर अन्य तत्वले त्यसको लाभ लिएको र ती ‘लाभग्राही’को भूमिकाका कारण अहिले नवयुवामा निराशा व्याप्त भएको पार्टीको दाबी छ।

पार्टीले लोकतन्त्र, संविधान, राष्ट्रिय हित र स्वाभिमानको रक्षा तथा शान्तिका लागि देशभक्त, लोकतान्त्रिक, प्रगतिशील र वामपन्थी शक्ति तथा व्यक्तिहरूलाई एकताबद्ध भएर अघि बढ्न अपिलसमेत गरेको छ।

You may also like