भाद्र २४ लाई कालो दिनका रूपमा स्मरण गर्छु’ : महेश बस्नेत

by समतल अनलाइन
44Shares

काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेतले राष्ट्रमाथि भएको अपराधमा उन्मुक्ति स्वीकार्य नहुने बताएका छन्। गत वर्ष भदौ २४ गते सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालतलगायत राज्यका संरचनामा भएको आक्रमण तथा आगजनीलाई उनले ‘राष्ट्रमाथिको आक्रमण’ भन्दै उक्त दिनलाई इतिहासको ‘कालो दिन’का रूपमा स्मरण गर्ने बताएका हुन्।

सामाजिक सञ्जालमा आफ्नो घर जल्दै गरेको भिडियो सार्वजनिक गर्दै बस्नेतले गत वर्षको घटनामा सरकारी कार्यालय, निजी उद्योग–व्यवसाय तथा ४ सयभन्दा बढी नागरिकका घर–सम्पत्ति जलेर खरानी भएको दाबी गरेका छन्।

उनले घटनाको एक वर्ष बितिसक्दा पनि पीडितले न्याय र क्षतिपूर्ति नपाएको तथा दोषीमाथि कारबाही हुन नसकेको गुनासो गरेका छन्।

बस्नेतले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पीडितले न्याय पाएनन्, क्षतिपूर्ति पाएनन्, अपराधीमाथि कारबाही भएन। बरु त्यही अराजकताको जगमा बनेको बालेन सत्ताले देशलाई थप अन्योल र बर्बादीतर्फ धकेल्यो।’

उनले भाद्र २४ लाई इतिहासको कालो दिनका रूपमा स्मरण गर्दै अपराधी जुनसुकै शक्ति वा आवरणमा भए पनि कानुनी कठघरामा नउभ्याएसम्म आफ्नो आवाज नरोकिने बताएका छन्।

‘न्याय चाहिन्छ, जवाफदेहिता चाहिन्छ। राष्ट्रमाथिको अपराधमा उन्मुक्ति स्वीकार्य छैन,’ बस्नेतले भनेका छन्।

You may also like