खगेन्द्र सुनारको दाबी : ‘जेनजी सहिदहरूको बलिदान खेर जान दिँदैनौँ’

by समतल अनलाइन
28Shares

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूको बलिदान खेर जान नदिने बताएका छन्।

जेनजी सहिद दिवसका अवसरमा जेनजी सहिद कल्याणकारी समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै सांसद सुनारले सुशासनका पक्षमा आवाज उठाउँदा ज्यान गुमाएका सहिदहरूको योगदानलाई सरकारले सम्मान गर्ने र उनीहरूको बलिदानलाई अर्थपूर्ण बनाउने बताए।

उनले वर्तमान सरकार भ्रष्टाचारविरुद्ध कठोर रूपमा प्रस्तुत हुने दाबी गर्दै पूर्व वा बहालवाला जुनसुकै पदाधिकारी भए पनि भ्रष्टाचार गरेको प्रमाणित भए कारबाही हुने स्पष्ट पारे।

सुनारले एक रुपैयाँ मात्रै भ्रष्टाचार गरेको प्रमाणित भए पनि सम्बन्धित व्यक्तिलाई कानुनी कारबाहीको दायरामा ल्याइने बताए। उनले भने, ‘जसले १ रुपैयाँ पनि भ्रष्टाचार गरेको छ, प्रत्येकको कठालो समातेर कारबाही हुनेछ। सबै ठाउँमा हिसाब हुनेछ, एक एक गनेर हिसाब हुनेछ, खनखनी गनेर हिसाब हुनेछ।’

सहिद परिवारलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको मृत्युले देशमा नयाँ परिवर्तनको आधार तयार गरेको बताए।

सहिदकी आमालाई ढाडस दिँदै सुनारले भने, ‘आमा तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मेको छोरो मर्‍यो, म एक्लो परेँ। होइन आमा, तिम्रो छोरो मरेको होइन। तिम्रो छोरो यो समाजमा, यो देशमा एउटा बिउ बनेर रोपिएको छ।’

सहिदहरूको बलिदानकै कारण देशमा नयाँ सुशासनको आधार तयार भएको उनको भनाइ थियो। उनले थपे, ‘तिम्रो छोरो बिउ बनेर रोपिएपछि नयाँ सुशासनका वृक्षहरू उम्रिएका हुन्। तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो।’

सांसद सुनारले आन्दोलनका सहभागी, सहिद परिवार तथा घाइतेहरूलाई निराश नहुन आग्रह गरे। रास्वपाको नेतृत्वमा बनेको सरकारले उनीहरूका माग सम्बोधन गर्ने र त्यसको सम्पूर्ण जिम्मेवारी लिने उनले आश्वासन दिए।

नयाँ राजनीतिक शक्तिको नेतृत्व र सरकारको कार्यक्षमतामाथि उठिरहेका प्रश्नबारे पनि उनले प्रतिक्रिया दिए। आफूहरू अनुभवका हिसाबले नयाँ भए पनि भ्रष्ट नभएको उनको दाबी थियो।

उनले भने, ‘बजारमा हुइँया मच्चाएका छन्, आलाकाँचा केटाहरू आएका छन्, संसद्लाई कतै गलत बाटोमा लिन्छन् कि! हामी आला हौँला, काँचा हौँला, तर कुहिएका छैनौँ आमा! ढुक्क हुनु, सुखले बाँच्ने दिन आउँदैछ।’

सुनारले वर्तमान सरकार सुशासन कायम गर्ने विषयमा स्पष्ट रहेको दाबी गर्दै भ्रष्टाचारविरुद्ध कसरी अघि बढ्ने भन्नेमा सरकार अन्योलमा नरहेको बताए।

उनले सरकारको प्राथमिकता भ्रष्टाचार नियन्त्रण, सुशासन स्थापना तथा आन्दोलनका क्रममा उठाइएका मागको सम्बोधन रहेको उल्लेख गरे। साथै, सहिद परिवार र घाइतेका समस्या तथा आन्दोलनका माग शीघ्र पूरा गर्न सरकारसँग आग्रहसमेत गरे।

अनुभवका हिसाबले आफूहरू नयाँ भए पनि विगतका विकृति दोहोर्‍याउने पक्षमा नरहेको बताउँदै सुनारले जेनजी आन्दोलनका सहभागी तथा सहिद परिवारलाई परिवर्तनको अनुभूति हुने गरी काम गर्नुपर्नेमा जोड दिए।

You may also like