बुटवल ।बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले रसुवाको भोटेकोशी नदिमा आएको बाढीमा परि दिवंगत भएकाहरुको सम्झनामा दीप प्रज्ज्वलन गरेको छ । रसुवाको भोटेकोशी नदिमा विनासकारी बाढी आएको १३ औं दिनको दिन दिवंगत भएकाहरुको आत्माको चिरशान्ति तथा घाईतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै सोमबार साँझ संघ परिषरमा दीप प्रज्ज्वलन गरिएको हो ।
त्यस अवसरमा संघका अध्यक्ष हरिप्रसाद अर्यालले विनासकारी बाढीमा परि ज्यान गुमाएकाहरुकाे दिवंगत आत्माकाे शान्तिकाे कामना गर्दै घाइते भएकाहरुकाे सिघ्र स्वास्थ्यलाभ तथा हराइरहेकाहरुकाे खाेजी र विस्थापितका लागि प्रभावकारी राहत र उद्धारमा सरकारकाे ध्यानाकर्षण गराए ।
उनले बुटवल उद्याेग वाणिज्य संघले बाढीबाट प्रभावितकाे राहतका लागि प्रधानमन्त्री राहतकाेषमा आार्थिक सहयाेग गर्ने निर्णय गरिएकाे जानकारी गराउँदै त्यसमा ऐच्छिक रुपमा सहयाेग गर्न चाहनेले सहयाेग गर्न सक्ने बताए ।
संघकाे साेमबार बिहान बसेकाे कार्यसमिति बैठकले २ लाख ५१ हजार १११ रुपैया नेपाल उद्याेग वाणिज्य महासंघ मार्फत प्रधानमन्त्री राहतकाेषमा सहयाेग गर्ने निर्णय गरेकाे थियाे भने संघका सदस्य उद्याेगी व्यवसायीलाई ऐच्छिक सहयाेग गर्न सक्नेगरी खुला राखिएकाे छ । त्यस्तै संघ सचिवालयमा कार्यरत कर्मचारीहरुले पनि ऐच्छिक सहयाेग गर्ने निर्णय गरेका छन् ।
उक्त दीप प्रज्ज्वलन कार्यक्रममा संघका पूर्वअध्यक्षहरु, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु, सदस्य उद्याेगी व्यवसायीहरुकाे सहभागिता रहेकाे थियाे ।

