भोटेकोशी बाढीपछि रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनःस्थापनामा तीव्रता

by समतल अनलाइन
33Shares

काठमाडौँ । भोटेकोशी बाढीका कारण विद्युत् संरचनामा क्षति पुगेपछि प्रभावित रसुवा र नुवाकोटमा विद्युत् सेवा पुनः सञ्चालनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले काम तीव्र पारेको छ।

मन्त्रालयका अनुसार प्रतिकूल मौसमका बीच धादिङका ९९.८ प्रतिशत, नुवाकोटका ९६.७ प्रतिशत र रसुवाका करिब ७८ प्रतिशत घरधुरीमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ। बाँकी क्षेत्रमा सेवा विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणका प्राविधिक टोली परिचालन गरिएको छ।

बाढीबाट प्रभावित विभिन्न जलविद्युत् आयोजनामा पनि खोज तथा उद्धारसँगै क्षतिको व्यवस्थापन र संरचना सफा गर्ने काम भइरहेको छ। माथिल्लो त्रिशूली–३ ‘ए’, माथिल्लो त्रिशूली–३ ‘बी’, चिलिमे, रसुवागढी, लाङटाङ, माथिल्लो त्रिशूली–१ र मैलुङ खोला जलविद्युत् आयोजनामा उद्धार तथा पुनःस्थापनाका काम जारी रहेको मन्त्रालयले जनाएको छ।

चिलिमे आयोजनाका लागि मड पम्प, जेनेरेटर र वाटर पम्प हेलिकप्टरबाट घटनास्थलमा पुर्‍याइएको छ। रसुवागढी आयोजनामा उद्धार टोली विद्युत्गृह र आसपासको क्षेत्रमा पुगेको छ। लाङटाङ आयोजनाको निकास मार्गमा थुप्रिएको माटो तथा ठूला चट्टान हटाउने काम भइरहेको छ।

त्यस्तै, माथिल्लो त्रिशूली–३ ‘बी’ आयोजनामा मिनी एक्स्काभेटर र बक्याट प्रयोग गरी बाढीबाट थुप्रिएको भग्नावशेष हटाउने कार्य भइरहेको छ। मैलुङ खोला आयोजनाको अवस्थाबारे नेपाली सेना र कोरियन विशेषज्ञ टोलीले स्थलगत रेकी गरेको मन्त्रालयले जनाएको छ।

बाढी प्रभावित जलविद्युत् आयोजनाका सुरुङबाट उद्धार गरिएका नेपाल विद्युत् प्राधिकरणका दुई कर्मचारी र एक चिनियाँ नागरिकको वीरेन्द्र सैनिक अस्पतालमा उपचार भइरहेको छ।

प्रभावित क्षेत्रमा सौर्य प्रणालीको व्यवस्था
विद्युत् सेवा तत्काल सञ्चालन गर्न नसकिने क्षेत्रका नागरिकका लागि वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रमार्फत सौर्य विद्युत् प्रणाली पठाउन थालिएको छ।

मन्त्रालयका अनुसार १३ वटा कार्यालय प्रयोजनका तथा ५०० वटा घरायसी प्रयोजनका सौर्य प्रणाली प्रभावित क्षेत्रमा पठाइएको छ। रसुवामा विद्युत् सेवा सञ्चालन हुन समय लाग्ने थप १ हजार २६८ घरधुरी पहिचान गरी त्यहाँ पनि सौर्य प्रणाली वितरणको तयारी भइरहेको छ।

सडक अवरुद्ध भएका क्षेत्रमा हेलिकप्टरमार्फत सौर्य प्रणाली ढुवानी गर्ने व्यवस्था मिलाइएको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव एवं प्रवक्ता मोहनकुमार शाक्यले जानकारी दिए।

बाढीबाट क्षतिग्रस्त संरचनाको मर्मत, उद्धार तथा वैकल्पिक ऊर्जाको प्रयोगमार्फत प्रभावित क्षेत्रमा विद्युत् सेवा यथाशीघ्र पुनःस्थापित गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।

You may also like