बुटवल । तिलोत्तमा नगरपालिकाले नगरपालिकाको सुलभ फार्मेसी सञ्चालनका विषयमा भ्रमपूर्ण तथा तथ्यहीन प्रचारप्रसार भएको भन्दै आपत्ति जनाएको छ। नगरपालिकाले सुलभ फार्मेसी सञ्चालनमा अवरोध सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता गतिविधि नगर्न सम्बन्धित पक्षलाई आग्रह गरेको हो।
नगरपालिकाका अनुसार नागरिकलाई आवश्यक औषधि सहज, सुलभ, गुणस्तरीय र पारदर्शी रूपमा उपलब्ध गराउने उद्देश्यले सुलभ फार्मेसी सञ्चालनमा ल्याइएको हो। नेपालको संविधानले स्वास्थ्यलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको तथा स्थानीय सरकार सञ्चालन ऐनले समेत स्वास्थ्यसम्बन्धी जिम्मेवारी स्थानीय तहलाई दिएको भन्दै नगरपालिकाले फार्मेसीलाई आफ्नो सामाजिक दायित्वका रूपमा सञ्चालन गरेको जनाएको छ।
नगरपालिकाले भदौ २० गते नेपाल औषधि व्यवसायी संघ, रुपन्देही शाखाको सातौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनमा सुलभ फार्मेसीबारे व्यक्त गरिएको भनाइप्रति विशेष ध्यानाकर्षण भएको जनाएको छ। नगरपालिकाले संघका पूर्वकेन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले नगरप्रमुखलाई जोडेर व्यक्त गरेको भनाइलाई गैरजिम्मेवार, भ्रामक तथा तथ्यहीन भनेको छ।
नगरपालिकाले सार्वजनिक कार्यक्रममा प्रश्न उठाउने, आलोचना गर्ने वा सुझाव दिने अधिकार सबैलाई भए पनि त्यस्ता अभिव्यक्ति तथ्य, प्रमाण र कानुनी व्यवस्थामा आधारित हुनुपर्ने जनाएको छ। जिम्मेवार व्यक्तिबाट अपुष्ट सूचना, अतिरञ्जित दाबी वा भ्रम सिर्जना गर्ने अभिव्यक्ति आउनु दुःखद भएको नगरपालिकाको भनाइ छ।
प्रेस विज्ञप्तिमा औषधिको नियमित आपूर्तिमा अवरोध सिर्जना गरी सेवा प्रवाह प्रभावित पार्ने प्रयास भएको भए त्यसबारे सम्बन्धित निकायलाई जानकारी गराइनेसमेत उल्लेख गरिएको छ। नगरपालिकाले औषधि व्यवस्था विभागको पत्राचारलाई समेत बेवास्ता गरी सुलभ फार्मेसीको औषधि आपूर्तिमा अवरोध सिर्जना गर्न खोजिएको दाबी गरेको छ।
नगरपालिकाले सुलभ फार्मेसीलाई थप व्यवस्थित, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाउँदै लैजाने प्रतिबद्धता जनाएको छ। साथै, फार्मेसी सञ्चालनसम्बन्धी कुनै भ्रम वा विवाद भए नगरपालिकाको आधिकारिक सूचना तथा तथ्यका आधारमा धारणा बनाउन सबै पक्षलाई आग्रह गरेको छ।


