प्रधानमन्त्री बालेनले असोज ८ मा संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्ने

by समतल अनलाइन
38Shares

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले असोज ८ गते संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने भएका छन्। नेपालको अनुरोधपछि संयुक्त राष्ट्रसंघले वक्ताहरूको सूची संशोधन गर्दै प्रधानमन्त्री शाहका लागि उक्त दिन सम्बोधनको समय तय गरेको हो।

न्यूयोर्कस्थित नेपाली नियोगले परराष्ट्र मन्त्रालयमार्फत पठाएको संशोधित कार्यक्रम तालिका प्रधानमन्त्री सचिवालयमा पुगेको छ। सोहीअनुसार प्रधानमन्त्रीको अमेरिका भ्रमणको तयारी अघि बढाइएको छ।

परराष्ट्र मन्त्रालयका एक अधिकारीका अनुसार न्यूयोर्कस्थित नेपाली नियोगबाट प्रधानमन्त्री शाहको सम्बोधन असोज ८ अर्थात् सेप्टेम्बर २४ मा हुने जानकारी प्राप्त भएको हो। उक्त जानकारी मन्त्रालयले प्रधानमन्त्री कार्यालयमा पठाइसकेको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघीय मुख्यालयमा हुने ८१औँ महासभामा हालसम्म ११८ देशका प्रतिनिधि सम्बोधनका लागि सूचीकृत भइसकेका छन्। महासभामा अधिकांश देशका तर्फबाट राष्ट्रप्रमुख, सरकारप्रमुख वा परराष्ट्रमन्त्रीले सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

भोटेकोशी विपद् र जलवायु न्यायको मुद्दा उठाउने तयारी
परराष्ट्र मन्त्रालय र प्रधानमन्त्री सचिवालयका अधिकारीहरूका अनुसार भोटेकोशी विपद्पछि प्रधानमन्त्री शाह आफैं महासभामा सहभागी भएर सम्बोधन गर्ने तयारी भएको हो। यसअघि परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभामा सम्बोधन गर्ने तयारी थियो।

प्रधानमन्त्री शाहले विश्वव्यापी तापक्रम वृद्धिसँग जोडिएका विपद् तथा जलवायु परिवर्तनका असरलाई प्राथमिकतामा राख्दै क्षतिपूर्ति र जलवायु न्यायका विषय अन्तर्राष्ट्रिय समुदायसमक्ष उठाउने अपेक्षा गरिएको छ।

भोटेकोशी विपद्पछि उद्धार तथा राहत कार्य जारी रहेकाले प्रधानमन्त्रीको अमेरिका भ्रमण सकेसम्म छोटो बनाउने तयारी भइरहेको अधिकारीहरूले बताएका छन्। न्यूयोर्क बसाइका क्रममा प्रधानमन्त्रीले कति वटा द्विपक्षीय तथा साइडलाइन बैठकमा सहभागी हुने भन्नेबारे भने अहिलेसम्म अन्तिम टुंगो लागेको छैन।

प्रधानमन्त्री बनेपछि पहिलो विदेश भ्रमण
प्रधानमन्त्री बनेपछि शाहको यो पहिलो विदेश भ्रमण हुनेछ। प्रधानमन्त्री पद सम्हालेयता उनले हालसम्म कुनै पनि देशका राष्ट्रप्रमुख वा सरकारप्रमुखसँग प्रत्यक्ष भेट गरेका छैनन्।

न्यूयोर्कमा रहँदा सम्भव भएसम्म अमेरिका, चीन र भारतका उच्चस्तरीय नेतृत्वसँग भेटवार्तालाई प्राथमिकता दिने तयारी रहेको बताइएको छ। यद्यपि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट हुने विषय भने अझै निश्चित भएको छैन।

त्यस्तै, चिनियाँ राष्ट्रपति सी जिन्पिङ सेप्टेम्बर २३ देखि २५ सम्म अमेरिकाको औपचारिक भ्रमणमा रहने भए पनि महासभामा सहभागी हुने कार्यक्रम छैन। यस्तो अवस्थामा न्यूयोर्कमा छिमेकी भारत र चीनका सरकार प्रमुखसँग प्रधानमन्त्री शाहको भेट हुने सम्भावना न्यून देखिएको छ।

परराष्ट्रमन्त्री खनाल पनि प्रतिनिधिमण्डलमा
प्रधानमन्त्री शाह महासभामा सहभागी हुने भएपछि परराष्ट्रमन्त्री शिशिर खनाल नेपाली प्रतिनिधिमण्डलका सदस्यका रूपमा सहभागी हुनेछन्।

परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार हालको तयारीअनुसार प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गरेर स्वदेश फर्कने तथा परराष्ट्रमन्त्री खनालले न्यूयोर्कमा हुने अन्य द्विपक्षीय तथा साइडलाइन बैठकहरूको नेतृत्व गर्ने सम्भावना छ।

प्रधानमन्त्री कार्यालयका स्रोतका अनुसार शाहको भ्रमण टोलीमा प्रमुख सल्लाहकार कुमार बेन, निजी सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार तथा फोटोग्राफर विनय शाक्य रहनेछन्।

त्यस्तै, परराष्ट्र सचिव अमृतबहादुर राई, परराष्ट्र मन्त्रालयको संयुक्त राष्ट्रसंघीय मामिला महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल तथा अधिकारी कुमारराज खरेल पनि प्रधानमन्त्रीको प्रतिनिधिमण्डलमा रहने अपेक्षा गरिएको छ।

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोग प्रमुख लोकबहादुर थापा पनि नेपाली प्रतिनिधिमण्डलका सदस्यका रूपमा महासभामा सहभागी हुनेछन्।

You may also like